अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेला सम्पन्न

बिआरटीनेपाल २०७५ फागुन १० गते १२:३४ मा प्रकाशित

फाल्गुन ३ गते देखी ९ गते सम्म काठमाडौँको विभिन्न स्कुलहरूमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेला “International Children Folk Festival 2019-Nepal” सम्पन्न भएको छ। लालीगुराँस नेसनल एकेडेमी मनमैजुमा एक भव्य समारोहका बिच गृहमन्त्री राम बहादुर थापा “बादल” ले उद्घाटन गर्नु भएको थियो । उक्त समारोहमा नेपालको पहिलो नृत्य निर्देशक भैरव बहादुर थापालाई गृहमन्त्रीले सम्मान गर्नु भयो । उद्घाटन पछि गृहमन्त्री “बादल” ले नेपालको पहिले नृत्य निर्देशक भैरव बहादुर थापालाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुका साथै एभरेस्ट नेपाल कल्चरल ग्रुपलाई नेपालमा अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको विकासका लागि काम गरेकोमा बधाईका साथै धन्यवाद दिनुभयो । 

मलेसिया, ताईवान र नेपालका विद्यार्थीहरूले भाग लिएको अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेला फाल्गुन ४ गते लालीगुराँस नेसनल एकेडेमी मनमैजु, फाल्गुन ७ गते बागमती बोर्डिङ स्कुल सुकेधार, फाल्गुन ७ गते नै लोयल्टी एकेडेमी मन्डिखाटार, फाल्गुन ८ गते ओडिसी इन्टरनेसनल एकेडेमीमा आयोजना गरिएको थियो ।

एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलाको लागि अन्तर्राष्ट्रिय समुहालाई नेपाल बोलाएको थियो भने लालीगुराँस नेसनल एकेडेमी मनमैजु, बागमती बोर्डिङ स्कुल सुकेधार, लोयल्टी एकेडेमी मन्डिखाटार र ओडिसी इन्टरनेसनल एकेडेमी आयोजक थिए । 

मेला अवधिभर अन्तर्राष्ट्रिय बालबालिकाहरूले विभिन्न स्कुलका विद्यार्थीहरूसँग आफ्नो कला प्रस्तुतिसँगै पठनपाठनका विषयमा पनि अन्तरक्रिया गरेका थिए । पाटन र वसन्तपुर दरबार क्षेत्रका साथै बौद्धनाथ पनि अवलोकन गरेर अन्तर्राष्ट्रिय बालबालिकाहरूले नेपाली साह्रै मिलनसार र हँसिला भएको प्रतिक्रिया दिँदै एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने १० औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७६ मा पुन नेपाल आउने र काठमाडौँ बाहिरको पनि अवलोकन गर्न मन भएको जानकारी दिए । 

प्रतिक्रिया