अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

सामाजिक सञ्जाल व्यवस्थित बनाउने विषयमा संसदमा छलफल

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:१० मा प्रकाशित

समाजिक सञ्जाल व्यवस्थित बनाउने विषयमा संसदमा छलफल सुरु भएको छ । सरकारले सूचना तथा प्रविधिसम्बन्धी विधेयक पेश गरेपछि सांसदहरूले त्यस बारेमा आआफ्नो विचार राख्न थालेका हुन् । सत्तापक्षका सांसदहरूले विधेयकको पक्षमा र विपक्षका सांसदहरूले विधेयकको विपक्षमा तर्क राखेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कुरा हल्ला मात्रै भएको बताउनुभएको छ । सूचना तथा प्रविधिसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा सांसदहरूको जवाफ दिँदै मन्त्री बास्कोटाले सहीकुरालाई सही र गलत कुरालाई गलत भन्न सक्नुपर्ने बताउनुभयो । उहाँले हुँदै नभएको कुरालाई हो भनेर समय खेर नफाल्न पनि अनुरोध गर्नुभयो ।
“सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, नियमन गर्न खोजिएको छ, सामाजिक सञ्जालका कम्पनी दर्ता हुनुपर्छ, कसैले पनि मनपरी गर्न पाइँदैन” मन्त्री बास्कोटाले भन्नुभयो ,“विधेयक राम्रो गर्न ल्याएको हो । केही गल्ती भए सच्याउन सकिन्छ तर पूर्वाग्रहलाई त के गर्न सकिन्छ ? सलाम छ हजुर । ” उहाँले त्यसो भन्दा सांसदहरू हाँसेका थिए ।

नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्देश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गर्नुभयो । फेसबुक, ट्विटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती सामाजिक सञ्जालका कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उहाँको तर्क थियो । नेकपाका सांसद योगेश भट्टराईले विधेयकले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न खोजेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू