अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

कार्यदल विघटन गर्ने पार्टी सचिवालयको निर्णय दुर्भाग्यपूर्ण –  योगेश भट्टराई

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:५४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्यदलका सदस्य समेत रहेका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दुर्भाग्यपूर्ण रहेको दाबी गर्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सोसम्बन्धी निर्णय विधानविपरीत रहेको र त्यसले कार्यदलले काम गर्न सकेरनसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप समेत लगाउनुभयो । शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्यदल विधानविपरीत सचिवालय बैठकले विघटन गरेको तर्क पनि गर्नुभयो ।

उहाँले सो कार्यदललाई कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप पनि लगाउनुभयो । नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निराश बनाएको दाबी गर्नुभयो । गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू