अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

पाकिस्तानद्वारा दुई उग्रवादी संगठनमाथि प्रतिबन्ध

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:३९ मा प्रकाशित

पाकिस्तानले चरमपन्थी नेता हाफिज सइदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । भारत प्रशासित कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीमाथि भएको हमलापछि पाकिस्तानले सो संगठनमाथि प्रतिबन्ध लगाएको हो । पाकिस्तानी गृह मन्त्रालयले जमात–अल–दावा निकट संगठन फलाह–ए–इन्सानियतमाथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । पाकिस्तानी गृह मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री कार्यालयमा भएको राष्ट्रिय सुरक्षा समितिको बैठकमा पुलवामा घटनाको समीक्षा भएको बताएका छन् । बैठकले जमाल–उद–दावा र फलाह–ए–इन्सानियतमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

पुलवामा आक्रमणपछि भारत–र पाकिस्तानबीच आरोप प्रत्यारोप चलिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री कार्यालयमै राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा पुलवामामा भएको आक्रमणपछि पाकिस्तानको रणनीति र राष्ट्रिय सुरक्षाका बारेमा छलफल भएको थियो । बैठकले पुलवामा आक्रमणमा पाकिस्तानको कुनै भूमिका नभएको निष्कर्ष निकालेको थियो ।

बैठकपछि पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस वक्तव्यमा पुलवामा आक्रमणको निष्पक्ष छानबिन गर्नुपर्ने उल्लेख छ । यसका साथै पाकिस्तानले भारतसँग आतंकवाद र बाँकी विवादित विषयमा वार्ता गर्ने प्रस्ताव पनि राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू