अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

अस्ट्रेलियामा आत्महत्या गर्ने नेपाली बिद्यार्थीहरुको संख्या बढ्यो

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:३१ मा प्रकाशित

अध्ययनका लागि अस्ट्रेलिया गएका नेपाली बिद्यार्थीहरुको आत्महत्या दर पछिल्लोपटक बढ्दै गएको छ । पछिल्लो डेढ वर्षमा अस्ट्रेलिया पढ्न गएका १२ नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।
अस्ट्रेलियाको अनुसन्धान संस्था हेडस्पेस र नेसनल युनियन अफ स्टुडेन्टसले २०१७ को अन्त्यमा गरेको सर्वेक्षणमा ३५ प्रतिशत विद्यार्थीले आफैँलाई हानि पुर्याउने सोच राख्ने गरेको तथ्य सार्वजनिक गरेको थियो । उक्त अध्ययनमा १७ देखि २५ वर्ष उमेरका २ हजार ६ सय विद्यार्थीलाई सहभागी गराईएको थियो ।

अध्ययनमा नेपाली संगै धेरै देशका विद्यार्थी सहभागी रहेका थिए । सर्वेक्षणका अनुसार कामको धपडी, समयसीमाको चिन्ता, सम्बन्धमा आउने जटिलता, आर्थिक कारण लगायत समस्याले बिद्यार्थीहरु आत्महत्या गर्न उद्धत रहेको पाईएको छ । सर्वेक्षणमा सहभागी ६५ प्रतिशत विद्यार्थीले आफू उच्च मानसिक तनावमा परेको बताएका थिए । त्यसमध्ये आधाले समयमा निद्रा नपर्ने, काम गर्न मन नलाग्ने, बेकारमा आएको जस्तो लाग्ने, अब कसरी फर्कौं र घरमा के भन्ने जस्ता कुराले तनाव हुने गरेको बताएका थिए ।

सजिलै उच्च शिक्षा र गतिलो आर्थिक कमाइ हुने आसमा अस्ट्रेलिया जाने नेपालीहरु सोचेअनुरुप हुन नसक्दा निराश हुने गर्दछन् । यस्ता विद्यार्थीलाई बेलैमा परामर्शको अभाव समेत हुने गरेको छ । अस्ट्रेलियाभरि झन्डै २ सय हाराहारी नेपाली संगठन भए पनि त्यस्ता विद्यार्थीलाई सहयोग पुर्याउन खासै पहल हुन सकेको छैन । एनआरएनलगायत संस्थाले गरेको पहल पनि प्रभावकारी बन्न सकेको छैन भने नेपाली दूतावासले समेत कुनै पहलकदमी गर्न नसकेको बताईन्छ ।

विद्यार्थीहरूको संस्था ‘अस्ट्रेलियन फेडेरेसन अफ इन्टरनेसनल स्टुडेन्ट्स’ ले केही समयअघि सिनेट इन्क्वायरीलाई बुझाएको एक रिपोर्टमा अस्ट्रेलिया सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थीको मानसिक स्वास्थ्यबारे अनुसन्धान गर्न आग्रह गरिएको थियो । उक्त रिपोर्टपछि अस्ट्रेलियामा विभिन्न विश्वविद्यालय र प्राध्यापकको ध्यान यसमा तानिएको छ ।

अस्ट्रेलियाबारे पूर्व जानकारी नलिईकन आउँदा समस्या हुने गरेको विद्यार्थीहरु बताउछन् । सिड्नीका मानसिक रोग विशेषज्ञ घनश्याम चापागाईंका अनुसार अस्ट्रेलियामा रहेका पाँचमध्ये एक नेपाली मानसिक रोगबाट पीडित छन् । समयमै चिकित्सकको सल्लाह नलिनु ठूलो समस्या भएको उहाको भनाई छ । दूतावास र एनआरएनलगायत संस्थाले विद्यार्थीलाई प्रभावकारी परामर्श दिनुपर्ने बिशेषज्ञहरुको भनाई छ । अस्ट्रेलिया अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिनुअघि विद्यार्थी तथा अभिभावकलाई अस्ट्रेलियाबारे विशेष जानकारी लिनैपर्ने प्रावधान राख्नुपर्ने जानाकारहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू