अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

आईएसको प्रचारक बन्न अमेरिका छोडेका महिलालाई स्वदेश फर्कन नदिने ट्रम्पको घोषणा

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक अतिवादी समूह ‘आईएस’को प्रचारक बन्न अमेरिका छोडेका कुनै पनि महिलालाई स्वदेश फर्कन नदिइने बताउनुभएको छ । उहाँले ट्वीट गर्दै विदेशमन्त्री माइक पोम्पियोलाई आफुले आईएससँग जोडिन पुगेका कुनै पनि महिलालाई अमेरिका फर्कन नदिन निर्देशन दिएको जनाउनुभएको छ । आईएससँग आवद्ध हुन देश छोडेकी एक महिला होडा मुथानाको नाम उद्धृत गर्दै उनलाई अमेरिका फर्कन नदिइने र त्यसका लागि विदेशमन्त्रीलाई निर्देशन दिइएको राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ ।

विदेशमन्त्री पोम्पियोले पनि २४ बर्षीया मुथाना अमेरिकी नागरिक नभएको र अमेरिका आउन नदिइने बताईसक्नुभएको छ । उता मुथानाको परिवार र वलिकले भने उनीसँग अमेरिकाको नागरिकता रहेको जिकिर गर्दै आएका छन् । अलाबामा राज्यमा हुर्किएकी मुथाना २० बर्षको हुँदा सिरियामा रहेका आईएससँग आवद्ध हुन घर छोडेकी थिइन् । उनले आफु टर्कीमा एक विश्वविद्यालयको कार्यक्रममा जान लागेको बताएकी थिइन् ।

उता बेलायतले पनि चार वर्षअघि इस्लामिक अतिवादी समुह आईएसका लडाकुसँग बिहे गर्न सिरिया पुगेकी १९ वर्षीया किशोरी शमिमा बेगमको नागरिकता रद्द गरेको छ । आमाबुवा बंगलादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको बेलायती अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू