अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:३७ मा प्रकाशित

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक बस्दै नबसीस्थगित भएको छ । माघ १० गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक फागुन १२ गते पुनः बस्ने गरि स्थगित भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक फागुन १२ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ ।

फागुन १ गते बसेको बैठक आजलाई पुनः बस्ने गरि स्थगित भएको थियो । तर आजको बैठक औपचारिक रुपमा बस्न बस्नै सकेन । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारी बीचको बैठक छलफलमै सिमित रह्यो । गत पुसमा सम्पन्न महासमितिबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानमा देखिएको विवादले एक महिनासम्म पनि निकास पाउन सकेको छैन । माघ २९ गते बसेको बैठकमा देउवा पक्षले केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान विधानमा यथावत राख्ने गरि बहुमतका अधारमा विधान पारितको तयारी गरेको थियो ।

उक्त बैठकमा संस्थापन इत्तर पक्षका प्रमुख नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला, बलबहादर केसी, दिलेन्द्र बडू, गगन थापा, प्रदिप पौडेललगायतले जिल्ला सभापतिलाई दिएको प्रतिबद्धताअनुसार पार्टीको विधानलाई पारित गर्नुपर्नेमा सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसबाट पार्टी पंक्तिमा राम्रो सन्देश नजाने भन्दै देउवा पक्षका केही नेताले सहमतिबाटै विधान पारित गर्ने सुझाएपछि देउवा छलफल र परामर्शमा जुटेका छन् ।

सोही अनुसार देउवाले आज पदाधिकारी एवं पूर्व पदाधिकारीसँग विधानलाई अन्तिम रुप दिन सहमतिको प्रयास गर्नुभएको छ । यद्यपि सहमति भने हुन नसकेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू