अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

‘एकताको विषयमा पार्टीभित्र कुनै विवाद छैन’– शीर्ष नेता (नेकपा)

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:४२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले पार्टीको तल्लो तहका कमिटी र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया केही दिनमै टुंग्याउने गरी गृहकार्य अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । बुधबार धनगढीमा भएको नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले एकता प्रक्रिया टुंगिन अब धेरै दिन नलाग्ने दाबी गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकीकरणमा अब विलम्ब नहुने बताउनुभयो । उहाँले एकताको विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबीसमेत गर्नुभयो । एक वर्षको अवधिमा सरकारले धेरै काम गरेको भन्दै प्रधानमन्त्री ओलीले बाँकी रहेको चार वर्षमा जनताका सबै अपेक्षा पूरा गर्ने जिकिर गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तल्लो तहसम्मको एकतालाई अब छिट्टै टुंगाउने बताउनुभयो । समय–समयमा एकतामा फाटो ल्याउने प्रयास गरिएपनि त्यो सम्भव नभएको प्रचण्डले उल्लेख गर्नुभयो । प्रतिपक्षीहरुले ‘सरकारले काम गरेन’ भनेर फैलाएको हल्लाको तुक नरहेको उहाँको भनाइ थियो ।

यस्तै, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जनताका आवश्यकता कम्युनिस्ट सरकारले मात्र पूरा गर्नसक्ने दाबी गर्नुभयो । कार्यक्रममा महासचिव विष्णु पौडेल, नेकपाका प्रदेश इन्चार्ज भीम रावल, नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बीना मगरलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू