अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

अमेरिकामा रहेको नेपाली दूतावासले नै घटायो नेपालको क्षेत्रफल

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:३५ मा प्रकाशित

अमेरिकाका लागि नेपाल दूतावासको आधिकारिक वेबसाइटमा नेपालीसम्बन्धी गलत विवरणमा राखेको पाइएको छ । अमेरिकामा नेपालको प्रतिनिधित्व गर्ने नेपाली दूतावासको आधिकारिक बेवसाइट युएस डट नेपाल एम्बेसी डट जिओभी एनपी (us.nepalembassy.gov. np)मा नेपालको क्षेत्रफल लगायतका विवरण गलत राखेको भेटिएको हो । दूतावासले वेबसाइटको नेपालसम्बन्धी विवरणमा नेपालको क्षेत्रफल नै घटाएर राखेको हो ।

वेबसाइटमा नेपालको कुल क्षेत्रफल लगभग भन्दै १ लाख ४७ हजार वर्ग किमी मात्रै उल्लेख गरिएको छ। नेपाल सरकारको आधिकारिक पोर्टल (nepal.gov.np) मा भने नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर उल्लेख छ । तर अमेरिकास्थित नेपाली दूतावासले १ सय ८१ वर्ग किमी घटाएर वेब साइटमा राखेर हेलचेक्र्याईं गरेको देखिन्छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले दूतावास नेपाल सरकारको आधिकारिक निकाय भएकाले यसरी गलत तथ्यांक राख्दा गलत सन्देश जाने र भ्रम फैलाउने भन्दै आपत्ति प्रकट गर्नुभएको छ । आधिकारिक निकायले अनुमानका भरमा विवरण राख्दा सीमा विवाद गर्नेलाई आधार बन्ने पनि उहाँको भनाइ छ। तथ्यांक प्राप्त गर्ने माध्यम सहजरूपमा उपलब्ध हुँदाहुँदै लगभग र अनुमानितको सहारा लिनु सर्बथा अनुचित रहेको र यसले विदेश र विदेशीहरूबीच भ्रम फेलाउने श्रेष्ठको भनाई छ ।

वेबसाइटमा ८०० किलोमिटरमात्रै पूर्व– पश्चिमको औसत लम्बाइ उल्लेख गरिएको छ। तर नेपालको आधिकारिक पोर्टलमा नेपालको पूर्व- पश्चिम औसत लम्बाइ ८०० किमी नभइ ८ सय ८५ किलोमिटर छ तर सरदरमा ९ सय किलोमीटर भन्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू