अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 17:26

बालेन फल्र्समा ३ तीन

रश्मिला कवाङ ‘रश्मि’ २०७५ फागुन ६ गते १५:०० मा प्रकाशित

दिन १
विश्वविद्यालयको पढाइअन्तर्गत जर्मनीको एक ठाउँ ‘वालेनफल्स’ भन्ने ठाउँमा ३ तीनको सेमिनार थियो । वातावरण संरक्षण सम्बन्धी उक्त सेमिनारमा भाग लिने अवसर पाएकोमा खुसी त थिएँ नै । करिब १ बजेतिर वाइरोइथ विश्वविद्यालयबाट हामी २५ जना जति सहपाठीहरू वालेफल्र्सको लागि हिड्यौं । करिब १ घण्टाको बाटो थियो । प्राय: सबै जना समयमै उपस्थित भएको कारणले हाम्रो तालिकाबमोजिम नै थियो हाम्रो यात्रा । प्राय ः जर्मनहरू सधैँ समयमै उपस्थित हुन्छन्, अझै कोही त समय अघि नै उपस्थित हुन्छन् । सायद समयको महत्त्व बुझेर नै यिनीहरूले यति दुतगतिमा विकास गर्न सकेको हो । बाटोमा रमणीय दृश्यहरू अवलोकन गर्दै थिएँ म ।

अरू सबै सहपाठीहरू आ–आफ्ना झोलाबाट किताबहरू निकालेर पढ्न थाले । जर्मनेलीहरुको एउटा बानी चाही अचम्मकै छ; जहाँ, जता गए पनि पढ्नुपर्ने, चाहे ट्रेनमा होस्, चाहे गाडीमा या बस स्टेसनमा । यिनीहरू ठुलो आवाजमा बोल्दै बोल्दैनन् । देशविकासमा यिनीहरू धेरै अगाडि भए पनि सामाजिक सञ्जालमा चाहिँ हामी भन्दा पछाडि नै छन्; र त यिनीहरूले भौतिक संरचना गर्न सकेका छन्; मनमनै सम्झेँ मैले । मलाई चाहिँ प्राय ट्रेनमा या बसमा जाँदा बाहिरका रमणीय दृश्यहरू हेर्ने रहर हुन्थ्यो । हुन पनि हामी नेपालीहरू अलि अलग्गै छौँ । म पनि आफू नेपाली भएकोमा गर्व गर्दै गाडीको दोस्रो सिटमा बसेँ । सबै जना आ–आफ्नै तालमा बसेँ; कोही किताब पढ्न बसे, कोही शान्तभावमा यत्तिकैमा एक जर्मनेली साथी मेरो पछाडि बस्दै गफ गर्न आइन् मसँग । ‘रेगीना’ नाम थियो उनको । नेपालीसँग ‘हिमाल’ को कुरा गर्न मक्ख थिइन् । म पनि के कम, नेपालको लोभै लाग्ने गरी वर्णन गरिदिएँ । ऊ सुन्दै गइन् र मनमनै पक्कै ‘एक दिन नेपाल घुम्न जान्छु’ भन्ने प्रण पनि गर्दिहोर्लिन । यस्तै गफगाफमा हाम्रो गन्तव्य पनि आइपुग्यो – वालेनफल्र्स भन्ने गाउँ । यो गाउँ शान्त, चिसो थियो । क्रिशमसको अघि भएर मौसम अलि चिसो थियो । सिरेटो चल्दा हिउँ पर्ला जस्तो भान हुन्थ्यो । सबैले आ–आफ्नो लगेज गुडाउँदै उकालो चढ्यौँ । एउटा चर्चनजिक एउटा ठुलो, रातो घरमा छिर्यौं । सबैले घर बाहिरै जुत्ता फुकाल्यौं र आ–आफ्नो सामानहरू बोकेर कोठामा छि¥यौं । करिब २ः३० बजेबाट सेमिनार सुरु भयो । सबैले लगेज कोठामा फ्याँकेर हत् न पत्त सेमिनार हलमा छिर्यौं, आ–आफ्नो कफी र पानीको बोटलका साथमा ।

जर्मनेलीहरु जतिखेर पनि ‘कफी’ खान रमाउँछन्; हामीले चिया खाएजस्तै । सेमिनार करिब ६ बजेसम्म चल्यो । त्यसपछि बिस्तारै भान्सातिर दगुरेऊ । भोकको झोकमा सबैजनाले भान्सामा भएका पाउरोटीहरू र फलफुलहरू खान थाल्यौँ । जर्मनेलीहरुको हामी जस्तै एकजनाले बाँड्ने भन्ने चलन हुँदैन; यिनीहरू आफूलाई जे मन लाग्छ, आफैले बनाएरै खान्छन्, कसैले कसैलाई बाँड्नु पर्दैन । फेरि डिनर गरेर सेमिनारमा बस्यौँ करिब १० बजेसम्म । सेमिनार सकिनासाथ ‘पार्टी’ गर्न थाले । यिनीहरू पार्टी गर्न कुनै आइतबार कुर्न पर्दैन हाम्रो जस्तै । १–२ कार्टुन बियर भएपछि यिनीहरूको पार्टी सुरु हुन्छ करिब बिहानको ५ बजेसम्म । भोलिपल्ट पनि सेमिनार भएको कारणले रातको ११ बजेतिर मसानघाटतिर ‘नाइट हाइक’ मा निस्कयौं । विकसित देशहरूमा सायद भूतप्रेत नहुँदो हो ! र पो केही पिशाचको कुनै डर हुन्न । हामी पनि गमक्क लुगा लगाएर हिँड्यौँ मसानघाटको चर्चतिर । निस्पट्ट रातको चकमन्नतामा शून्यता भङ्ग गर्दै हामी निस्क्यौँ । चारैतिर झिलिमिली बत्तीले गर्दा खेरी रातको त्यो वातावरण यति राम्रो देखिएको थियो कि, दिनको उज्यालोभन्दा रातको अँधेरीमा रंंगीविरंगी देखिएको थियो । हामी चन्द्रमाको उज्यालोमा चर्चको मसानघाटवरिपरि डुल्यौँ । हुस्सु अनि रङ्गीबिरङ्गी बत्तीले वातावरण पनि चहकिलो थियो । साह्रै राम्रो थियो रातको त्यो झिलिमिली पर्यावरण पनि । त्यसपछि फेरि सुरु भयो जर्मनेलीहरुको पार्टी; म भने कोठामा आई सुत्ने प्रयास गरेँ । पार्टी कतिखेर सकियो, अत्तोपत्तो भएन मलाई । बिहान करिब ७ बजेको अर्लाम बजेपछि बल्ल बिउँझेँ म ।

दिन २
करिब ७ः३० बजेतिर ‘ब्रेकफास्ट’ गरेऊ र सेमिनारमा बस्यौँ । त्यो दिन मैले पनि केही बोल्नुपर्ने थियो; मन ढुकढुक भइरहेको थियो; तै पनि बोलेँ; सायद राम्रै बोलेंं क्यार । कहीँको तारिफ जो पाएँ । करिब १ बजेतिर खाना खाइवरि फेरि हामी ‘हाइकिङ्ग’ गर्ने भन्दै जर्मनेली जङ्गलमा घुमफिर गरेऊ । २ घण्टा जति हिड्यौं जंगलैजंगलको बाटो भएर । घना जङ्गल थियो, जीवजन्तुको नाउँमा भुसुनासम्म पनि थिएन; थियो त केवल शान्त र चिसो वातावरण । गफगाफ गर्दै हामी ४ बजेतिर हामी बास बसेको घरमा बस्यौँ फेरि सेमिनारको लागी । लखतरान भएर फर्केका हामीले खै सेमिनारमा के पो ध्यान जाला र ! तैपनि बस्नै पर्‍यो; दिमागमा केही नघुसे पनि । ६ बजेतिर सेमिनार सकाएर भात पकाउनतिर लागियो सबै जना । कसैले प्याज काटे, कसैले आलु, मैले फर्सी काटेँ; कसैले भात बसाउन थाले, कसैले तरकारी । २–४ वटा पिरो खुर्सानी पनि हाले कसैले । खाना तयार भयो ।

सबै जना आ–आफ्नो थाल बोक्दै सबैजनाले त्यो पिरो तरकारी खान नसकेर चिज, बटर अनि चिनी हालेर खान थाले । मलाई भने मज्जा लागिरहेको थियो धेरै दिनपछि यसरी मसलादार खान पाएकोमा । त्यसपछि सबै जना आ–आफ्नो कोठातिर आराम गर्न थाले । म पनि अरू सहपाठीहरू सँगै हाम्रो कोठामा गएँ । हाम्रो कोठा अलि ठुलो थियो करिब हामी १० जना साथीहरू थियौँ । ओछ्यान पनि स–साना १०–१५ वटै थिए । फेरी साथीहरू नाइट हाइकिङ गर्ने भनेर तम्सिए । कोही फेरी दौडिन थाले । कोही भने बियर खाँदै गफगाफ गर्नेतिर लागे । मलाई भने दुबैमा सहभागी हुन मन लागेन । त्यस्तो चिसो सिरेटोमा को पो जाओस् र ! फेरि बियर खाने पनि परिनँ म । खुरुखुरु आफ्नो काठामा आएँ । ती साथीहरूले सोच्दा हुन् कि एसियाका विद्यार्थीहरू अलि बाहिर खुल्न चाहँदैनन् तर तिनीहरूलाई के थाहा, हामी कति मिजासिला र मिलनसार छौँ भन्ने कुरा !

थाहा पाओस् पनि कसरी ? जन्मे देखिन् यिनीहरू खालि सुखसयलमा बाँच्न पाइरहेका छन् । तिनीहरूलाई के थाहा र हाम्रा दयनीय अवस्था, हाम्रा नौ मुरी पीख्यथाहरु ! त्यो त हामीलाई मात्र थाहा छ । अचानाको पिर खुकुरीले जान्दैन भने जस्तै हो । यस्तै बकबक गर्दै म आफ्नो झोलाबाट कापी र कलम लिँदै केही लेख्न बसेँ । त्यत्तिकैमा हाना भन्ने मेरी साथी आइन् र म सँग गफिन थालिन् । मैले नेपाली अक्षर लेखेको उसलाई खुबै मन परेछ क्यारे ! केही कुराकानी गरेपछि उनी पनि बियर खान हिँडिन् । म भने यो नियात्रा लेरुख्दै बसेँ करिब रातको ११ बजेसम्म । सुत्न खोजेँ तर निद्रा एक थोपो लागे पो ! अर्को कोठामा गीत बजाउँदै पार्टी चलिरहेको थियो तापनि निदाउने प्रयास गर्दै गरेँ ।

दिन ३
कति खेर निदाएछु, पत्तै भएन । बिहानीको आर्लाम बजेपछि मात्र निद्रा खोल्यो । बिहानको ७ बजेको रहेछ । उठ्नै मन लागेन । चिसो थियो , अलिअलि हिउँ पनि पर्न थालेको थियो । यसो हेरेको वरिपरि, अरू साथीहरू सब मस्त निद्रामै थिए । सायद तिनीहरू बिहानको ५ बजे मात्र सुतेका होलान् ! म पनि एक छिन फेरी सुतेँ अनि आठ बजेतिर उठेँ । नित्यकर्म सकाएर ब्रेकफास्ट गर्न तिर लागेँ । एक जना सर्भिएन साथी नि उठीसकिछिन् । हामीले सँगै खायौँ केही पाउरोटी अनि फलफुलहरू । त्यसपछि नजिकैको चर्च र बगैँचामा टहलिन थाल्यौँ । करिब १२ बजेतिर हामीले आ–आफ्नो सामानहरू मिलाउन थाल्यौँ । कोही भने भोलि मात्र फर्कने योजना बनाइरहेका थिए । हामी २–४ जना भने आजै फर्किने निधो गरेऊ । दुई घण्टाको बस यात्रापछि बल्ल हामी बाइरोइथ पुग्यौँ । पुग्नासाथ एक छिन त मज्जाले निदाउने प्रयास गरेँ । आफ्नो कोठामा हुनुको मज्जा नै बेग्लै । झन् आफ्नै घरमा सुतीको तन्नामा न्यानो सिरक भए त कति रमाइलो हुन्थ्यो होला । अनि आमाले पकाउनुभएको मीठो खाना खाँदै । यस्तै–यस्तै कुराहरू सोचेर बसेँ म । त्यसपछि आफ्नो ल्यापटप खोलेर इमेलहरू हेर्न थालेँ । धेरै इमेलहरू आएको रहेछ । स्याउको जुस खाँदै आफ्नो पढाइको कामहरू गर्नतिर लागेँ ।

*लेखिका हाल जर्मनीमा हुनुहुन्छ ।

प्रतिक्रिया