अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

स्ववियु चुनाव गर्न त्रिबि द्धारा समिति गठन, सत्तारुढ दलका बिद्यार्थीको घेराउ

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:३५ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन समिति गठन गरेको छ । शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरिएको हो । १६ सदस्यीय समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती र सदस्य सचिवमा विद्यार्थी कल्याण विभागका निर्देशक गंगाबहादुर थापामगर रहनुभएको छ । त्रिवि पदाधिकारी, प्राध्यापक र कर्मचारी सम्मिलित समिति गठन गरिएको सहसंयोजक उप्रेतीले जानकारी दिनुभयो । चुनाव मिति घोषणा गर्न माग गर्दै सत्तारूढ नेकपासम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले सोमबार त्रिवि कार्यालय घेराउ गरेका थिए । लगत्तै त्रिविले समिति गठन गरेको हो ।

यसअघि नै त्रिविले फागुनमा निर्वाचनको तयारी गर्न मुलुकभरका क्याम्पसहरूलाई निर्देशन दिएको थियो । कांग्रेस निकट नेपाल विद्यार्थी संघले तत्काल स्ववियु निर्वाचन नगर्न आग्रह गरेपछि चुनावको मिति घोषणा हुन सकेको थिएन । कांग्रेस नेताहरूले पनि चुनाव सार्न आग्रह गर्दै आएका छन् । सत्तापक्षीय विद्यार्थी संगठनको दबाबमा निर्वाचन समिति घोषणा भएको हो ।

तर, नेविसंघ र साना पार्टीहरूका विद्यार्थी संगठनले चुनाव नगराउन त्रिवि पदाधिकारीलाई दबाब दिने गरेको बताईएको छ । सत्तारूढ दलका विद्यार्थी संगठनको चुनाव गराउने र प्रतिपक्षी दलका विद्यार्थी संगठनको चुनाव नगराउने दबाबको चेपुवामा त्रिवि पर्दा निर्वाचन अनिश्चित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू