अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

नेकपा सचिवालय बैठक / एकता टुंग्याउन कार्यदलसँग छलफल गरिने

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:३२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अड्किएको एकता प्रक्रियालाई टुंगोमा पुर्याउन कार्यदलसँग छलफल गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उत्क निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले कार्यदलले दिएको प्रतिवेदनलाई टुंगो लगाउन कार्यदलका सदस्यहरुसँगै यही ९ गते सामूहिक छलफल गर्ने निर्णय गरेको श्रेष्ठले बताउनुभएको छ । कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल गरेर पार्टीको सांगठनिक एकीकरणसम्बन्धी नीतिबारे निर्णय लिने निचोड आजको बैठकमा निकालिएकोे प्रवक्ता श्रेष्ठको भनाई थियो ।

नेकपाले पार्टी एकता टुंग्याउन गठन गरेको रामबहादुर थापा बादल नेतृत्वको कार्यदल भित्रै विवाद हुँदा पार्टी एकता प्रक्रिया नै अड्किएको थियो । कार्यदलले प्रतिवेदनलाई पूर्णता नदिइ नै सचिवालयमा बुझाइसकेको छ । आजको सचिवालय बैठकले त्यही कार्यदलको प्रतिवेदनमाथि छलफल पनि गरेको थियो । आगामी बैठकमा कार्यदलले दिएको प्रतिवेदनका आधारमा आवश्यक नीति निर्माण र निर्णयका लागि कार्यदल सदस्यहरुसँग सामूहिक छलफल गर्ने निर्णय भएको हो।

नेकपाले पार्टीको सांगठनिक एकता टुंगो लगाउने जिम्मासहित सचिवालय सदस्य थापा र महासचिव विष्णु पौडेलसहितको कार्यदललाई दिएको थियो । तर यो कार्यदल आफैँ भित्रको विवादका कारण अल्मलिएको थियो । विवादकाबीच कार्यदलले सचिवालयलाई अधुरो प्रतिवेदन बुझाइसकेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश मुख्यमन्त्री भएकालाई पनि प्रदेश कमिटीको जिम्मा दिएको भन्दै त्यसलाई सच्याउन अडान लिनुभएको थियो । त्यहीकारण कार्यदलले अनिर्णित भएर अधुरै प्रतिवेदन बुझाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू