अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

वित्तीय विश्लेषकहरूको संस्था स्थापना

बिआरटीनेपाल २०७५ फागुन ५ गते १०:१५ मा प्रकाशित

लगानीको वातावरण बन्दैछः गभर्नर

काठमाडौँ, नेपालको समग्र वित्तीय विश्लेषकहरूको संस्थाको रूपमा एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको औपचारिक उद्घाटन भएको छ । 

वित्तीय क्षेत्रहरूको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी र पुँजी बजारमा नैतिकता, व्यवसायिकता र पारदर्शिता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए) संलग्न सो संस्था नेपालमा स्थापना भई उद्घाटन भएको हो । गत वर्षको अप्रिलमा एसोसिएसन गैर नाफामूलक संस्थाको रूपमा दर्ता भएको थियो । सीएफए पूरा गरेका एनालिष्टहरु नेपालमा १२ जना मात्र छन् भने ३ सय १७ विद्यार्थी अध्यायरत छन् । संस्थाले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ ।

संस्थाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालले देशमा राजनीतिक स्थिरता आएसँगै लगानीको वातावरण बन्दै गएको र उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्त्व रहेको बताए । देश आर्थिक रूपान्तरणको बाटोमा रहेको बताउँदै उनले सरकारले नेपालमा लगानीका लागि उचित वातावरण बन्दै गएको बताए । ‘वित्तीय साक्षरता र वित्तीय पहुँच बढ्दै गएको छ । सरकारले एक स्थानीय तह कम्तीमा एक बैङ्कको नीति लिएकाले यसले बिजनेस बढाउन मद्दत गर्छ ।’–उनले भने–‘भुक्तानी प्रणाली आधुनिकिकरण भएको छ । लगानीको वातावरण बन्दै गएको छ ।’ उनले वातावरण निर्माणसँगै लगानी वृद्धि हुँदै वित्तीय अवस्था सुधार हुँदै जाने बताए ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजी बजारको नियामकको हिसाबले नेपाल धितोपत्र बोर्ड लगानीको सुरक्षा गर्न सधैँ प्रयास गरिरहेको बताए । उनले बोर्ड लगानीकर्तालाई आत्मविश्वास बनाउन चाहेको उल्लेख गरे । सिएफए एसिया प्यासिफिकका निक पोलार्डले प्रोफेसनल इन्भेष्टमेन्टले पुँजी बजारको नैतिक विकासमा सहयोग पुर्‍याउने बताए । लगानी बोर्डका सदस्य बालकृष्ण सिवाकोटीले लगानीबाट प्रतिफल निकाल्नु महत्त्वपूर्ण कुरा भएकाले प्रोफेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाको भूमिका महत्त्व हुने बताए ।

शुक्रबारनै क्रियाशील चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरूको सम्मेलन पनि भएको छ । सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरू, यसमा अध्यायरत विद्यार्थीहरू, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिहरूका साथै बिमा, बैङ्किङ, मर्चेण्ट बैङ्किङ क्षेत्रका प्रतिनिधि सहित तीन सय जनाको सहभागिता थियो ।

एसोसिएसनका अध्यक्ष डा. मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तीय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरू बढाउने बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू