अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा

बिआरटीनेपाल २०७५ फागुन ५ गते ७:२७ मा प्रकाशित

भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान कोलम्बियाको सीमावर्ती शहर कुकुटा पुगेको छ । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदोको आग्रहमा अमेरिकाले मानवीयता सहायता पठाएको हो ।

नेता गुइदोले फेब्रुअरी २३ देखि स्वयंसेवकहरुको सहयोगमा ती सामग्री भेनेजुएला लगिने बताउनुभएको छ । अमेरिकी सहयोग नियोगका प्रशसक मार्क ग्रिनले भेनेजुएलामा देखिएको मानवीय संकट समाधानका लागि विपक्षी नेताको आग्रहमा ती सामग्री दिइएको जनाउनुभएको छ । उहाँले बालबालिकाहरु भोकभोकै पर्ने अवस्था आएको र अस्पतालहरुमा औषधि अभाव हुन थालेपछि आफूहरुले मानवीय सहायता उपलब्ध गराएको बताउनुभयो ।

ग्रिनले भेनेजुएलाका ३० लाख नागरिक खाना र औषधिको खोजी गर्दै छिमेकी मुलुकमा पुगेको दाबीसमेत गर्नुभएको छ । भेनेजुएलाका विपक्षी नेता गुइदोका प्रतिनिधिले ब्राजिल र क्यारेबियन मुलुकहरुका सीमा क्षेत्रमा पनि सहयोग संकलनका बारेमा छलफल गरिने बताएका छन् । यही हप्ताभित्र ब्राजिलको सरकारसँग पनि सीमा क्षेत्रमा राहतका सामग्री राख्नेबारे वार्ता गरिने उहाँको भनाइ छ ।

विपक्षी नेताले राहत संकलनका लागि विभिन्न प्रयास गरेको भए पनि राष्ट्रपति निकोलस मदुरोको विरोधका कारण ती सामग्री भेनेजुएलामा पुग्छन् भन्ने यकिन भने छैन । अमेरिकासहितका पश्चिमा मुलुकहरुले दिएको कुनै पनि सहयोग नलिने घोषणा राष्ट्रपति मदुरोले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू