अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

कांग्रेसद्वारा सुनुवाइ समितिको बैठक बहिस्कार, मुस्लिम आयोगका अध्यक्षविरुद्ध ४ उजुरी

बिआरटीनेपाल २०७५ फागुन ५ गते ७:२६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको छ । संवैधानिक परिषदले प्रक्रिया नपुर्याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले समितिको बैठक बहिस्कार गर्दै आएको छ ।

सिफारिस गरिएका पाँचजना पदाधिकारीउपर परेका उजुरीबारे छलफल गर्न आइतबार सिंहदरबारमा बसेको बैठक पनि कांग्रेसले बहिस्कार गरेको हो । कांग्रेसले बहिस्कार गरे पनि समितिले आयोगमा सिफारिस पदाधिकारीमाथि परेका उजुरी खोलेको छ ।

यस्तै, बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको यही फागुन ७ गते मध्याह्न १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।

यसैबीच, विभिन्न पाँचओटा आयोगमा सिफारिस गरिएका अध्यक्षहरुमध्ये सुनुवाई समितिका मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीविरुद्ध चारओटा उजुरी परेको छ । अरु ४ अध्यक्ष बारेमा कुनैपनि उजुरी नपरेको समितिले जानकारी दिएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेसका सांसदले बहिस्कार गरे पनि बहुमतबाट आयोगका अध्यक्षहरुबारे निर्णय गरिने जानकारी दिनुभयो । १५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका ४ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू