अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

राष्ट्रिय जनता पार्टी महाधिवेशनमा केन्द्रित

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:४१ मा प्रकाशित

संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्नो राष्ट्रिय महाधिवेशनमा केन्द्रित भएको छ । २०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित विभिन्न ६ दलबीच एकतापछि बनेको राजपा नेपाल यसअघि नै तय भएको वैशाख ७ देखि ९ गतेसम्मको पार्टीको पहिलो एकता महाधिवेशनको तयारीमा जुटेको हो ।

तोकिएकै समयमा एकता महाधिवेशन गर्न राजपा संगठन निर्माण, सदस्यता वितरण, भेला र बैठक गर्नमा व्यस्त छ । शुक्रबार बसेको राजपा अध्यक्षमन्डलको बैठकले महाधिवेशनका लागि साधारण र सक्रिय सदस्यता वितरणको म्याद फागुन १५ गतेसम्म थप्ने निर्णय गरेको छ ।

पार्टीका महासचिव केशव झाले महाधिवेशनका लागि कार्यतालिका बनाएर काम भइरहेको र फागुन अन्तिम सातासम्म सदस्यताको टुंगो लगाएर चैत मसान्तसम्म स्थानीयदेखि जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । फागुन अन्तिमसम्म सदस्यता टुंगो लगाउने कार्यतालिका बनाएको राजपाको तोकिएकै समयमा सदस्यता टुंगो लगाउन भने त्यति सहज छैन । विभिन्न ६ पार्टी मिलेर बनेको राजपामा आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने नेताहरुको मनसायका कारण सदस्यता वितरण र स्थानीय तहदेखि नै नेतृत्व चयनको प्रक्रिया सहज नहुने देखिन्छ । तर, महासचिव झा सदस्यता वितरण र नेतृत्व चयनमा विवाद नहुने दाबी गर्नुहुन्छ ।

राजपाले महाधिवेशनको तयारीका लागि प्रदेश तहमा बैठक गर्दैछ । अध्यक्षमन्डलको उपस्थितिमा फागुन १० देखि १३ सम्म जनकपुरमा विस्तृत् बैठक बस्दैछ भने फागुन १४ गते विराटनगरमा बैठक बस्दैछ । यस्तै, फागुन १६ गते भैरहवामा र फागुन १७ गते नेपालगन्जमा महाधिवेशनको तयारी बैठक गर्दैछ ।

बैठकमा जिल्ला अध्यक्षमन्डल, केन्द्रीय सदस्य, स्थानीय तथा प्रदेश जनप्रतिनिधि, भ्रातृसगंठनका पदाधिकारी, प्रदेश प्रतिनिधिलगायतको उपस्थिति रहने जनाइएको छ । महाधिवेशन तयारीकै प्रयोजनका लागि राजपाले पार्टीका केन्द्रीय अध्यक्षमन्डलको उपस्थितिमा फागुन २२ देखि २५ गतेसम्म काठमाडौंमा मधेसी, आदिवासी जनताजाति र बुद्धिजीवीसँग अन्तरक्रिया गर्दैछ । पार्टी एकता भएको एक बर्षभित्रै गत वैशाखमा एकता महाधिवेशन गर्नुपर्ने भएपनि आन्तरिक विवादका कारण राजपा नेपालको एकता अधिवेशन एक वर्षपछि धकेलिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू