अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

विकास र समृद्धिको अभियानमा सत्ता र प्रतिपक्षमा बिभाजित नहुन नेकपा अध्यक्ष प्रचण्डको प्रस्ताव

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:२१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा कोही पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित हुन नहुने बताउनुभएको छ । मुलुकको सर्वाङ्गीण विकाशका लागि एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

भक्तपुरमा आज आयोजित हनुमन्ते सफाइ अभियानको ५१ औँ हप्ता अन्तर्गतको वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको बताउनुभएको छ । विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, वर्ग, धर्म, लिङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाइ अभियानले दिएको बताउँदै उहाँले नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर प्राप्त भएकाउल्लेख गर्नुभयो । देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले यसमा विभाजित हुन नहुनेमा उहाँको जोड थियो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नदीको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले वातावरणमा आएको ह्रास न्यूनीकरण गर्न सरसफाइ अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आज बिहान राष्ट्रिय धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि शुरु भएको वाकाथुन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष प्रचण्ड र काङ्ग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । समारोहमा राष्ट्रिय धावक मानन्धरलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू