अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

अमेरिकामा राष्ट्रिय संकटकाल , मेक्सिकोसँगको सीमामा पर्खाल लगाएरै छाड्ने राष्ट्रपति ट्रम्पको दावी

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:१९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गर्नुभएको हो । संकटकाल घोषणा अघि ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताउनुभयो । आफूले निर्माण गर्ने पर्खालले काम गर्ने दाबी पनि ट्रम्पले गर्नुभएको छ ।

संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै आठ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने ट्रम्पले बताउनुभयो । संकटकालको घोषणा संगै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गर्नुभएको छ । मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरूको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने उहाँको दाबी छ ।

तर डेमोक्र्याट्सका नेताहरूले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनी आपत्ति जनाएका छन् । ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उहाँको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने आँकलन गरिएको छ ।  डेमोक्र्याट्स पार्टीका उच्च नेताहरूले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । संकटकाल घोषणासँगै अब ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू