अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

लिबियामा पाकिस्तानीले बन्धक बनाएका दुई नेपालीको उद्धार

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:४९ मा प्रकाशित

लिबियामा बन्धकमा परेका दुई जना नेपालीको उद्दार भएको छ। नेपाली तथा पाकिस्तानी दलालले आप्रवासनको आश्वासन दिँदै इटाली लैजाने भन्दै उनीहरुलाई लिबिया पुर्‍याएका थिए। इटाली जाने भन्दै उनीहरूसँगै अन्य १२ जना नेपालीसमेत लिबिया पुगेको र यसमध्ये तीनजना अझै पाकिस्तानी दलालको बन्धकमा रहेको आफन्तले बताएका छन्।

उद्धार हुनेमा पोखरा–९ का ओम गुरुङ र पर्वतका सुरेश केसी रहेका छन्। सुरेश केसीकी श्रीमती ज्योती बुढाका अनुसार उनीहरू लिबिया प्रहरीको सम्पर्कमा तीन दिनअघि पुगेका हुन्। उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया भइरहेको बताइएको छ। लिबियामा अलपत्र परेका १२ नेपालीमध्ये ११ जनाको पहिचान खुले पनि एक जनाको अझै खुल्न सकेको छैन। पाकिस्तानी दलालको बन्धकबाट गुरुङ र केसीलाई छुटाउन उनीहरुका आफन्तले १३ लाख भन्दा बढी रुपैंया लिबिया पठाई सकेको प्रहरी स्रोतले जनाएको छ। पाकिस्तानी दलादहरु दुईजना रहेको र एकजना सुडानमा बसेर पैसा माग्ने नेपाल प्रहरीले स्रोतले जनाएको छ। लिबियमा भने भोला भन्ने दलाल रहेको जनाएको छ।

१२ मध्ये सात जनाका आफन्तले मात्र महानगरीय अपराधमहाशाखामा उजुरी दिएका छन्। अलपत्र पर्नेमा म्याग्दीका अमन लजा, चिमखोला–३ म्याग्दीकै धीरज थापा, पोखरा–१९ का रञ्जीत केसी, बालकृष्ण बाठा, दत्तबहादुर बाठा, त्यस्तै रुकुमका मनराज पुन, सुनिलकुमार गिरी, महेश डाँगी र हरिमान बुढा रहेको नेपाल प्रहरी स्रोतले जनाएको छ।

उनीहरू सबैलाई पर्यटक भिसामा सुरूमा युएई, त्यसपछि जोर्डन हुँदै लिबिया पुर्याइएको थियो। लिबियाबाट इटाली लैजाने क्रममा पाकिस्तानी दलालहरूबीच लेनदेनमा विवाद भएपछि युवाहरूलाई बन्धक राखिएको अपराध महाशाखाले जनाएको छ। उनीहरूलाई नेपालबाट पठाउने एजेन्ट मेचीनगर–१० काँकडभिट्टा बस्ने सन्तोष पराजुली र लामाचौर कास्कीका जसकाजी गुरुङलाई अपराध महाशाखाले केही दिन अघि पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू