अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई भन्सारमा झन्झट कम गरियोस्

बिआरटीनेपाल २०७५ फागुन २ गते २२:४० मा प्रकाशित

प्रेस विज्ञप्ति

विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरूले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिरहेको पछिल्लो घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
लाखौँ नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरू जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको छ । रेमिट्यान्स मार्फत मुलुक कै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरूले घरायसी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरू प्रति समेत नकारात्मक भावना उत्पन्न गरेको हामीले महसुस गरेका छौँ ।

झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयाँ नियम लागु गर्नु भन्दा कम्तीमा ६ महिना अगावै सार्वजनिक रूपमा सूचना दिई कष्ट मुक्त बनाउन प्रयास गर्नुपर्ने देखिन्छ । जान अनजान तोकिएको हदसम्मका व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट विमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथमकदाचित तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रूपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउनु उपयुक्त हुने हाम्रो ठम्याइ छ । तोकिएको नियम कानुन आवासीय तथा गैरआवासीय हामी सबैले पालना गर्नुपर्छ भन्नेमा दुइमत छैन तर अहिले सम्म कार्यान्वयनमा नरहेको नियम एकैचोटी कडाइका साथ लागू गर्दा प्रवासबाट स्वदेश फर्कने नेपालीहरूले पूर्व सूचना नपाएका कारण नै दुख कष्ट र क्षति ब्यहोर्नु परेको यथार्थता बुझिदिएर तत्काल सोही अनुसार कार्यगरिदिन सरकार र सम्बन्धित निकाय समक्ष गैरआवासीय नेपाली सङ्घ अनुरोध गर्दछ ।

भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली सङ्घ
अन्तर्राष्ट्रिय समन्वय परिषद्

प्रतिक्रिया