अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

२४ हजारमै काठमाडौँ–कोलकाताको दोहोरो उडान

बिआरटीनेपाल २०७५ फागुन १ गते १०:४७ मा प्रकाशित

घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पश्चिम बङ्गालका राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले त्यहाँ आफ्नो आधिकारिक कार्यालय पनि खोलिसकेको छ ।

बुद्ध एयरले नववर्ष २०७६ को आगमनसँगै वैशाख २ बाट कोलकाता उडान भर्नेछ । कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एक मात्र नेपाली विमान सेवा कम्पनी हो । सुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ । काठमाडौँबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्नेछ ।

यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरूको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरू पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दर वन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्नेछन् ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जे सुकै भए पनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने विश्वास लिएको छ ।

बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरी २ उडान भरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू