अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

नेपालका हजुरआमा-हजुरबा र अमेरिकाका नाति- नातिनीहरू

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ फागुन १ गते १०:२९ मा प्रकाशित

(वि.द्र: निम्नलिखित कुराहरू सबै परिवार र हजुरबा-हजुरआमा र नाति-नातिनीहरूमा लागु नहुन सक्छ ।)

नेपाली समाज, सभ्यता, धर्म र संस्कृति भन्दा अमेरिकी समाज, सभ्यता, धर्म र संस्कृति फरक छ । अमेरिकी समाज स्वतन्त्र, खुल्ला र उदारवादी छ जबकि नेपाली समाज तुलनात्मक रूपमा अद्यपरिमित परतंत्र, पराधीन र पुरातनवादी छ ।

नेपालबाट बाल्यावस्थामै आएका अथवा अमेरिकामै (युरोप, अस्ट्रेलिया, क्यानडा र पश्चिमी सबै देशहरूमा पनि यही विषय र सन्दर्भ लागु हुन्छ ) जन्मेका बाल- बालिका हरूमा अमेरिकी हावा-पानी र बानी ब्यहोराको क्रमिक रूपमा प्रभाव पर्दै जान्छ र नेपाली मूल र जरोबाट ऊनीहरू अलग्गिंदै र टाढिँदै जान्छन् । अधिकांश समय चाइल्ड केयर ( Child Care ) अथवा विद्यालयमा शिक्षक र साथी-भाइहरूसँग बित्ने भएकाले अमेरिकी शिक्षा पद्धति, सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ । भाषा, स्वभाव, आदत र आचरण आदिमा पनि पश्चिमी सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ ।

* नेपालका हजुरआमा र हजुरबुवाहरू
नेपाली समाजमा एउटा भनाई छ: “साँवको भन्दा ब्याजको लोभ/माया” अर्थात् छोरा-छोरीको भन्दा नाति-नातीनाको माया बढी हुन्छ र न्याश्रो लाग्छ । अनुभूति त्यस्तै पनि हुन्छ । अत: विदेशमा भएका नाति- नातिनीहरूलाई हेर्ने, बोक्ने, म्वाइँ खाने, हिँडाउने, घुमाउन लैजाने, काखमा राख्ने आदि-इत्यादि रहरहरू हुन्छन् जुन प्राकृतिक र स्वाभाविक पनि हो तर अब यहाँनिर धेरै समस्याहरू आउन सक्छन् ।

यी समस्याहरू सबैमा लागु हुन्छन् भन्ने त छैन तर अपवाद बाहेक अधिकांश हजुरबा-हजुरआमाहरूमा लागु हुन्छ ।

समस्याहरू:
१. भाषाको जटिल समस्या ( severe language barrier ):

यद्यपि सबैलाई एउटै डोकामा त राख्न मिल्दैन तर अधिकांशलाई यो समस्या जटिल र विकराल रूपमा देखा पर्छ किनभने अब संवाद हुन जटिल हुन सक्छ । यदि हजुरबा- हजुरआमालाई अङ्ग्रेजी भाषाको आधारभूत र सम्यक् ज्ञान छैन र नाति- नातीनालाई नेपाली आउँदैन भने कुराकानीको मेलो सर्न सक्तैन । फलस्वरूप, अपेक्षित मात्रामा माया-ममता र आत्मीयता वृद्धि हुन पनि कठिन हुन्छ ।

आमा-बुवाले हजुरआमा/ हजुरबा ( grandma/ grandpa ) भनेर चिनाई त देलान् तर त्यो बाबु अथवा नानीले ती शब्दहरूको तात्त्विक र गहिरो अर्थ बुझ्न सक्तैनन । नेपाली समाजमा हजुरआमा/ हजुरबा भन्नाले जे- जति र जस्तो बुझिन्छ, अमेरिकी समाजमा grandma/ grandpa भन्नाले त्यति नै बुझिँदैन । उदाहरण स्वरूप, हामी नेपालीहरूले  ‘गाई’ भन्नाले जे जति बुझ्छौँ, अमेरिकी समाजले “Cow” भन्नाले त्यति नै बुझ्न सक्तैन । हाम्रो नेपाली समाज, संस्कृति, धर्म र परम्परामा “गाई” भन्नाले कति महत्त्व र अर्थ लाग्छ भन्ने कुराको व्याख्या यहाँ निष्प्रयोजन छ ।

२. कानुनी ज्ञानको अभाव:
• अमेरिकी कानुन कडा र मानवाधिकारमा आधारित छ ।
• बाल अधिकार सुरक्षित र संवेदनशील छ ।
• वैयक्तिक स्वतन्त्रता प्रमुख हुन्छ ।
• बच्चा- बच्चीलाई कुट्न, गाली गर्न, शारीरिक दण्ड, मानसिक यातना र आवेगिक दु:ख- कष्ट दिनु हुँदैन किनभने अमेरिकी कानुनमा चाइल्ड राईट्स (child rights) अन्तर्गत चाइल्ड प्रोटेक्शन सर्भिस अर्थात् बाल्य सुरक्षा सेवा: Child Protection Service (CPS) अन्तर्गत अनुसन्धान कार्य सुरु हुन्छ र अभिभावकहरू जबाफदेही हुनु पर्छ ।
• बच्चा बच्ची अथवा केटाकेटीले प्रहरी बोलाई दिए, विद्यालयमा शिक्षकहरू अथवा साथीहरूलाई भनिदिए/ उजुरी दिए भने तु. प्रहरी आएर खोजतलास गर्छ र सुरक्षाशिविरमा लगेर राख्न सक्छ र बच्चा बच्चीहरूले सुरक्षित महसुस नगरे सम्म घर फिर्ता हुन दिन्न !
• तेरह वर्षभन्दा मुनिका बाल- बालिकाहरूलाई घरमा एक्लै छोड्यो भने कानुनत: दण्डित हुनु पर्छ र सफाइ दिनु पर्छ ।
• कार अथवा कहीँ कतै सार्वजनिक ठाउँहरूमा नानीबाबुहरूलाई एक्लै छोड्न पाइन्न ।
• नाबालक कानुन (Juvenile Law) अन्तर्गत बच्चाहरूको विशेष कानुन हुन्छ ।
• नौ वर्षभन्दा माथिका उमेरका सन्तानलाई एउटै कोठामा राख्न कानुनत: मिल्दैन !
• अठार वर्षभन्दा माथिका उमेरका छोरा-छोरीहरूलाई आफ्नो अधीनमा राख्न मिल्दैन ।तिनीहरूले स्वतन्त्रतापूर्वक आफ्नो निर्णय लिन पाउँछन् । फलस्वरूप, तिनीहरू साधरणतया बुवाआमासंग छुट्टिएर/अलग्गिएर आफ्नै कोठा अथवा अपार्टमेंट लिएर बस्छन् ।

* उन्नत प्रविधिको अज्ञानता:
• अहिलेको उच्च र उन्नत प्रविधिले पनि ठुलो समस्या ल्याएको छ हजुरबा हजुरआमा हरूलाई किनकि यसले दुरी बढाएको छ नाति- नातिनी हरूसँग । केटाकेटीहरू विद्यालयबाट आएपछि पनि र बिदाका दिनहरूमा पनि अधिकांश समय गेम्स, स्पोर्ट्स, आईफ़ोन, आइ प्याड अथवा अन्य कुराहरूमा व्यस्त हुन्छन् ।

• अमेरिकाका नाति नातिनीहरू:
• अमेरिकाका नाति नातिनीहरू उम्रिँदैका दुई पाते हुन्छन् । अस्पतालमा जन्मिए देखिनै सबै सु:ख सुविधाहरू उपयोग र उपभोग गर्न पाउँछन् । विद्यालय जान थालेपछि अधिकांश समय अमेरिकी वातावरण र परिवेशमा बिताउन थाल्छन् ।

• अमेरिकन (अङ्ग्रेजी) भाषा- साहित्य, समाज- संस्कृति र परिवेशमा हुर्किँदै गर्दा आफूहरूलाई पनि अमेरिकन नै ठान्ने, अमेरिकीहरूलाईनै आफ्नो साथी बनाउने गर्छन् ।
• अमेरिकी चाडपर्व र रहन-सहनमा रमाउने र खेल्ने गर्छन् ।

• आफ्नो खुसीले केटाहरूले केटी साथी (GF) र केटीहरूले केटा साथी (BF) बनाउने गर्छन् ।
• आत्म-सम्मान, स्वाभिमान र इमान्दारितामा विश्वास राख्छन् ।
• सकेसम्म आफै कमाउने, आफ्नो काम आफै गर्ने बानीको विकास गर्दै स्वतन्त्र बन्छन् र आफ्नो जिन्दगीका निजी सवालहरूमा बुवा-आमा, हजुरबा-हजुरआमा तथा परिवारका अन्य सदस्यहरूले हस्तक्षेप गरेको मन पराउँदैनन् ।

यसरी एउटा ठुलो दुरी बढ्दै गई पारिवारिक माहौल र परिवेश बिग्रन सक्ने सम्भावना रहन्छ ।

* समस्या समाधानका उपायहरू:
१. घरमा बुवा-आमा र परिवारका सबै सदस्य हरूले नेपालीमै बोल्ने किनभने अङ्ग्रेजी त विद्यालय र वाह्यपरिवेशमै सिकी हाल्छन् ।
२. मठ- मन्दिर, पूजा- आजा र आफन्त हरूकोमा नियमित रूपमा लैजाने ।
३. कम्तीमा दुइवर्षमा एक पटक नेपाल लिएर जाने र नेपाली परिवेश र परम्परासँग चिनजान गराउने ।
४. घरमा नेपाली किताबहरू ल्याएर पढ्न- लेख्न र बोल्न सिकाउने ।
५. घरमा आफन्त र पाहुना/अतिथिहरू आउँदा बाहिर बोलाई चिनजान गराउने ।
६. कम्तीमा सुत्न जानुभन्दा पहिले बैठक कोठामा परिवारका सबै सदस्यहरूलाई बोलाई नेपाली भाषामै एक घण्टासम्म पारिवारिक छलफल र नेपालका कुराहरूमा प्रेमपूर्वक हाँसी-खुशी छलफल गर्ने ।

७. बिहान- बेलुकी समाचार र गीत-सङ्गीत सुन्ने ।
८. हरेक सहरमा नानी-बाबुहरूका निम्ति नेपाली पाठशाला, सांस्कृतिक तथा साहित्यिक केन्द्र र हजुरबा- हजुरआमाहरूका लागि नेपाली मिलन केन्द्र तथा चौतारीसाँझको आयोजना गरी मनोरंजनात्मक कार्यक्रमहरू गर्ने गराउने ।
९. नेपाली सामुदायिक केन्द्रहरूको स्थापना गरी त्यहाँभित्र मन्दिर, व्यायाम केन्द्र, ध्यान केन्द्रहरूको व्यवस्थापन गर्ने आदि-इत्यादि ।

सारांशमा भन्नुपर्दा हाम्रो मूल जरो, सभ्यता, धर्म, संस्कृतिको रक्षा गर्न र हजुरबा- हजुरआमासँगको दुरी घटाई आत्मीयता, माया-ममता र अपनत्वको भाव अभिवृद्धि गर्नु जरुरी छ ताकि पुस्ता र जाति नमरोस । हजुरबा र हजुरआमालाई खल्लो र न्या़स्रो नलागोस ।

तसर्थ हजुरबा, हजुरआमाहरूले पनि देश, काल र परिस्थितिको अवश्यम्भावी परिणतिलाई महसुस गर्दै आधुनिक ज्ञान-विज्ञान र परिधि तथा अन्तर्राष्ट्रिय भाषा अंग्रेज़ीलाई स्वाध्यनन गरी नाति- नातिनीहरूसँग घुलमिल गर्ने अधिकतम प्रयास गर्नु जरुरी छ । आखिर समयको वेग र संसारको परिवर्तनलाई कसैले रोकेर रोक्न सक्तैन । अस्तु !

(लेखक डा. दुर्गा दाहाल पेसाले प्राध्यापक, भाषाविद् र अनुसन्धान हुनुहुन्छ )