अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

गैरआवासीय नेपाली सङ्घ तथा राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता सम्पन्न

बिआरटीनेपाल २०७५ फागुन १ गते १०:०६ मा प्रकाशित

लन्डन । नेपालमा आयोजना राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा गैरआवासीय नेपाली सङ्घ तथा राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा गैरआवासीय नेपाली खेलाडीहरू सहभागी गराई प्रतिभा प्रस्तुत गर्ने आधार तयार गर्ने उद्देश्यले सम्झौता गरिएको हो । सङ्घका तर्फबाट अध्यक्ष भवन भट्ट र राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट सदस्यसचिव केशव कुमार विष्टले मङ्गलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार सङ्घ र परिषद्ले नेपाली खेलकुद क्षेत्रको विकासका लागि संयुक्त रूपमा नीति नियमको निर्माण, स्रोत साधनको विकास तथा योजना कार्यक्रम तर्जुमा गर्ने सहमति गरिएको छ । यस्तै परिषद्ले आयोजना गर्ने राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरूमा संसारभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली खेलाडीहरूको सहभागिता सम्बन्धी व्यवस्था एकद्वार प्रणाली अनुसार गैरआवासीय नेपाली सङ्घ मार्फत गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

परिषद्ले आयोजना गर्ने राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरूमा गैरआवासीय नेपाली सङ्घले जारी गरेको परिचय पत्र वा परराष्ट्र मन्त्रालयले जारी गरेको गैरआवासीय नेपाली परिचयपत्रका साथै सङ्घको सिफारिसको आधारमा खेलको नियम अनुसार गैरआवासीय नेपाली खेलाडी सहभागी हुने व्यवस्था समेत मिलाइने भएको छ ।

गैरआवासीय नेपाली खेलाडीले अरू स्थानीय नेपाली खेलाडी सरह सेवा सुविधा पाउनेछन् । परिषद्का विभिन्न खेलकुद सम्बन्धी गतिविधि एवं संरचनाहरूमा नेपाल बाहिर रहेर प्रवासमा सिकेको खेलकुद सम्बन्धी नवीनतम सिप, प्रविधि र कौशल नेपालमा भित्र्याउन सङ्घले सहयोग गर्ने सहमति समेत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी परिषदमा गैरआवासीय नेपाली सङ्घका तर्फबाट अन्तर्राष्ट्रिय युवा संयोजक पदेन सदस्यका रूपमा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधिका रूपमा व्यवस्था गरिएको छ । त्यस सम्बन्धमा परिषद्को विद्यमान ऐनमा आवश्यकता अनुसार संशोधन परिवर्तनको पहल गरिने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै सङ्घका तर्फबाट अन्तर्राष्ट्रिय युवा संयोजक र परिषद्का तर्फबाट तोकिएका एक अधिकारी सम्मिलित दुई सदस्यीय टोलीले नै राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा गैरआवासीय नेपालीका सहभागिताका लागि संयोजनकारी भूमिका खेल्नेछ ।

सङ्घका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा परिषद्का तर्फबाट कार्यकारी परिषद् नै विभिन्न गतिविधिलाई कार्यन्वयनका लागि अन्तिम मान्यता दिने निकाय हुने सहमति गरिएको छ ।

सङ्घ र परिषद्को संयुक्त गतिविधि समेटी वार्षिक रूपमा एक प्रतिवेदन तयार गर्ने, गैरआवासीय नेपाली खेलाडीहरूको सहभागिता र गैरआवासीय नेपाली खेलाडीको प्रतिनिधित्व गर्ने गरी विभिन्न खेलकुद क्लब दर्ता एवं सञ्चालनका लागि हाल विद्यमान ऐन नियमहरूमा आवश्यकता अनुसार परिषद्ले संशोधनको प्रक्रिया अगाडी बढाउने र त्यसरी सञ्चालन हुने क्लब गैरआवासीय नेपाली सङ्घको वैधानिक निर्णय एवं सिफारिसमा परिषद्ले दर्ता गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू