अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

अमेरिकामा टिपिएस् अन्त्य विरुद्ध नेपालीले मुद्दा हाले

बिआरटीनेपाल २०७५ माघ २९ गते २२:२९ मा प्रकाशित

जातीय विभेदको आरोप

एजेन्सी । टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस्) विभेदपूर्ण तरिकाले अन्त्य गरिएको भन्दै ट्रम्प प्रशासन विरुद्ध नेपाली आप्रवासीले मुद्दा हालेका छन् ।

नेपाली सँगै होन्डुरसका आप्रवासीले पनि टिपिएस् अन्त्य गरिएको विरुद्धमा मुद्दा हालेका छन् । मुद्दा सान फ्रान्सिस्कोस्थित सङ्घीय अदालतमा आइबार साँझ दायर गरिएको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गरेको निर्णय जसबाट टिपिएस् अन्त्य हुन्छ, त्यो जातीय विभेदबाट उत्प्रेरित भएको दायर मुद्दामा दाबी गरिएको छ । टिपिएस् कार्यक्रमले दैवी प्रकोपमा परेका राष्ट्रका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्न अनुमति दिएको छ ।

मुद्दा ६ आप्रवासी र अमेरिकामा जन्मिएका बालबालिकाको पक्षमा हालिएको हो । आप्रवासी आफ्नो देश फर्किने सक्ने अवस्थाका सम्बन्धमा डिपार्टमेन्टले गरेको मूल्याङ्कन पनि अनुचित भएको दाबी गरिएको छ ।

‘ट्रम्प प्रशासनले बारम्बार अश्वेत र गैर युरोपेली लाई विभेदपूर्ण आलोचना गरेको र उनीहरूलाई देशबाट हटाउन खोजेको प्रमाण पेस गरेका छौँ,’ लस एन्जलसस्थित एशियन अमेरिकन एड्भान्सिङ जस्टिस आबद्ध अधिवक्ता मिन्जु चोले भने । क्यालिफोर्निया, मिनेसोटा, मेरिल्याण्ड, भर्जिनिया र कनेक्टिकटमा बसोबास गर्ने यी मानिसहरू प्रतिनिधि उदाहरण मात्र हुन् ।

यो मुद्दा विभिन्न देशबाट अमेरिका आएर कानुनी रूपमा काम गरिरहेका आप्रवासीलाई हटाउन ट्रम्प प्रशासनले गरिरहेको कामकारबाहीलाई अदालतमा चुनौती दिइएको पछिल्लो घटना हो । गत वर्ष ट्रम्प प्रशासनले हैटी, एल साल्भाडोर, निकारागुवा, र सुडानको टिपिएस् अन्त्य गर्न गरेको निर्णय विरुद्ध एक जना सङ्घीय न्यायाधीशले अस्थायी रोक लगाइदिएका थिए ।

टिपिएस् दैवी प्रकोप र युद्धग्रस्त देशका मानिसलाई त्यसबाट जोगाउन अमेरिकामा कानुनी रूपमा बसोबास गरी काम गर्न सक्ने अवस्था सिर्जना गर्न ल्याइएको मानवीय कार्यक्रम हो । यो कार्यक्रम आवश्यकता अनुसार नवीकरण हुँदै आएको छ । यो कार्यक्रम अन्तर्गत कतिपय देशका मानिस अमेरिकामा दशकौँ देखि बसोबास गरिरहेका छन् ।

ट्रम्प प्रशासनले गत वर्ष नेपाल र होन्डुरसका लागि टिपिएस् कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको थियो । सन् १९९८ मा आएको हुरिक्यान आँधी पीडितलाई सहयोग पु¥याउन होन्डुरसका लागि टिपिएस् कार्यक्रम लागु गरिएको थियो । सन् २०१५ मा भूकम्प आएपछि नेपालले टिपिएस् पाएका थियो । यो कार्यक्रम अन्तर्गत करिब १५ हजार नेपाली र ८६ हजार होन्डुरसका नागरिक अमेरिकामा बसोबास गरिरहेका छन् ।

टिपिएस् कार्यक्रम अन्तर्गत अमेरिकामा रहेका आप्रवासीका ५० हजारभन्दा बढी सन्तान यहीँ जन्मेका छन् जो कानुनी रूपमा अमेरिका बस्न र काम गर्न पाउँछन् । टिपिएस् कार्यक्रम अन्त गरिए अमेरिकामा जन्मिएका आप्रवासीका सन्तानलाई पनि असर पुग्छ । एन्बिसी न्युजबाट

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू