अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

सत्तारुढ नेकपाले देशैभर जनयुद्ध दिवस मनाउने

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:२२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माओवादी जनयुद्ध शुरू भएको दिनको सम्झनामा जनआन्दोलन तथा जनयुद्ध दिवस मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्षका रुपमा जनयुद्धको शुरुवात गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनयुद्ध सुरु भएको दिन १ फागुनको सम्झनामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा नेकपाले पहिलोपटक कार्यक्रम राखेको हो ।

पार्टी एकीकरण हुनुपुर्व माओवादीको नेतृत्वमा शुरू भएको सशस्त्र संघर्षका बारेमा तत्कालीन एमालेले भिन्न मत राख्दै आएको थियो । तर गत बर्ष नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रसँग पार्टी एकता भएपछि भने नेकपाले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको हो ।

पार्टी केन्द्रको तर्फबाट जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्झनामा फागुन १ गते पार्टीका प्रदेश र जिल्ला कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राख्न सर्कुलर जारी गरिएको छ । नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश र जिल्लामा जनयुद्ध दिवसको कार्यक्रम गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

 

विद्यार्थी संगठनको आयोजनामा दीप प्रज्ज्वलन गरिने

जनयुद्ध दिवसको सन्दर्भमा नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रूपमा बुधबार बिहान श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने र साँझ माइतीघरमण्डलामा दीप प्रज्ज्वलनको कार्यक्रम आयोजना गर्ने जनाएका छन् ।

दुवै संगठनको सोमबार बसेको बैठकले फागुन १ गते जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा संयुक्त रूपमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय भएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले जानकारी दिनुभयो ।

कास्कीमा नेकपाका गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङकाे उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएकाे छ । जिल्ला पार्टी कार्यालय शान्ति बनवाटिकामा कार्यक्रम गरिने नेकपा कास्कीले जानकारी दिएकाे छ । त्यस्तै तनहुँमा गण्डकी प्रदेशका सह इञ्चार्ज खगराज अधिकारी र गण्डकी प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्रीकाे उपस्थितिमा कार्यक्रम गरिने आयोजक नेकपा गण्डकी प्रदेश कमिटिले जनाएकाे छ ।

 

माओवादी घटकका अलग अलग कार्यक्रम

यसअघि तत्कालीन माओवादी घटक दलहरूले हरेक बर्ष फागुन १ गते फरक फरक रुपले जनयुद्ध दिवस मनाउँदै आएका थिए । माओवादी विचारधारका पार्टीहरु मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लगायतले पनि फरक फरक कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू