अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

फागुन १ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

बिआरटीनेपाल २०७५ माघ २८ गते ८:२६ मा प्रकाशित

सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी यही फागुन १ गते बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गराउनु भएको हो । उहाँले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने परिकल्पनालाई सरकार पार्न सरकारले सबै नागरिकलाई रोजगारीको न्यूनतम व्यवस्था गर्न पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको पनि जानकारी दिनु भयो ।

सरकारले ल्याउन लागेको सो कार्यक्रममा बेरोजगार भत्ता र निर्वाह भत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । मन्त्री विष्टले बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यवसायिक तथा सीप विकास तालिम दिने व्यवस्था पनि सो कार्यक्रममार्फत गर्ने स्पष्ट पार्नु भयो । बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनमा न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकमलाई निर्वाह भत्ताको रुपमा उपलब्ध गराउने प्रधानमन्त्री रोजगार कार्यक्रममा उल्लेख गरिएको छ । मन्त्री विष्टले सबैलाई रोजगारीको व्यवस्था गर्न सरकारले सो कार्यक्रम संचालन गरेको पनि बताउनु भयो ।

त्यसैगरी निर्वाह भत्ता न्यूनतम रोजगारीको अवसर पनि नपाएकाहरुलाई उपलब्ध गराउने उल्लेख गरिएको छ । मन्त्री विष्टले यो कार्यक्रम लागू गर्न देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने पनि जानकारी दिनु भयो । उहाँले सो कार्यक्रममा कुनै पनि प्रकारको विभेद नगर्ने प्रतिवद्धता पनि जनाउनु भयो । राजनीतिक आस्थाको आधारमा सो कार्यक्रममा कुनै पनि प्रकारको विभेद नहुने मन्त्री विष्टको दावी छ ।

सरकारले दिगो आर्थिक विकासका लागि काम र रोजगारीलाई उच्च प्राथमिकता दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू