अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

अमेरिकाको कोलोराडोमा दुई नेपालीको मृत्यु

बिआरटिनेपाल संवाददाता, कोलोराडो २०७५ माघ २७ गते १०:४८ मा प्रकाशित

क्यालिफोर्नियाका २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्माको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरी दुई नेपाली भासी भुटानीको मृत्‍यु भएको छ । कोलोराडो राज्यको अरोरा सहरमा शनिवार बिहान ६ः४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा भएको सवारी दुर्घटनामा दुई जना नेपाली भासी भुटानीहरू चालक २६ वर्षका यादव मगर र पछाडिको सिटमा बसेका १७ वर्षको अशिश तामाङको मृत्यु भएको छ । अगाडिको सिटमा बसेका विमल सुब्बा गम्भीर घाइते भएर युनिभर्सिटी अस्पतालको आसियुमा उपचार भइरहेको छ । मगर र तामाङको पार्थिव शरीर अराफो काउन्टिको मुर्दाघरमा राखिएको छ । 

प्रहरीका अनुसार इस्ट ह्याम्डन नाघ्ने बेला कारको सन्तुलन गुमेको थियो । त्यसपछि उक्त कार सडक किनाराको रुखमा ठोक्किएको थियो । कारको ठक्करबाट रुखको आधा भाग क्षतिग्रस्त छ । दुर्घटनाको कारण तीव्र गति भएको प्रहरीको दाबी छ ।

यादवको बहिनी रेसमा मगरले बिआरटी नेपालसँगको कुराकानीमा उनको दाजु यादव अघिल्लो दिनको जन्म दिनको शुभकामना पार्टीमा साथीकोमा गएको र उतै उक्त रात सुतेर बिहान घर फर्कने क्रममा यो दुर्घटना भएको जानकारी दिएकी छिन । शनिवार, आइतबार सबै बन्द भएकोले उनको फ्युनरल कहिले हुने भन्ने भोलि मात्रै थाहा हुने दाजु दीपेश मगरले बिआरटी नेपाललाई बताए ।