अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

गल्लीका पानका दागहरू

राजबाबु श्रेष्ठ 'सागर' २०७५ माघ २६ गते २२:४१ मा प्रकाशित

कविता

तिमीले
बैंससङ्गसङ्गै आफूलाई पनि
पार्दर्शी भृकुटी मेलामाझै यसरी सजायौ
जसरी ग्राहक किन्ने भन्दा
सजिएका सामग्रीलाई ओल्टाई – पल्टाईगरी
सस्तो मोललगाईरहेको हुन्छ
हो तिमी त ठिक त्यस्तै गरी
बिछट्टै सस्ती रहेकी थियौ ।

तर मैले भने
खै किन हो कुन्नि
तिम्रो त्यो पार्दर्शी आवरणबाट
देखिएका ती तिम्रा बैँसका अहमका पर्खालहरू
मक्किईरहेको देखेँ यसरी
जसरी कलिलो पवनको एकै झट्कामा
भग्नावशेषमा रूपान्तरित हुँदै थियौ ।

हो मैले तिमीमा
कुनै बहुमूल्य त्यो चीज देखिन
जसलाई मैले ऋण गरी मूल्य हाल्नै पर्ने
तर तिमी त आफूलाई
संसारकै अमूल्य वस्तु सोचिरहेकी थियौ ।

के थाहा तिमीलाई ?
भित्रभित्रै तिमी रङ्गिन प्रदूषणमा
बिछट्टै मैलिईरहेकी थियौ यसरी
जसरी सेतो वस्त्रमा गल्लीका पानका दागहरू
सर्प लुके झैँ लुकेर बस्छ ।

हो तिमी त
बजारका त्यो वस्तु पो रहेछ्यौ
जसलाई नयाँमा किन्दा पनि
मोल मलाई हुन्छ अनि पुरानो भएर
बेच्दा पनि मोल मलाई हुन्छ ।

हेर त बजारमा तिमी
नियालेर चारैतिर सुन र हिरा मोती
कहीँ राखिएका छन्
फुटपाथमा बेच्न ?

 

 

## महोत्तरी, गौशाला न. पा. वडा न. १