अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डवीच भेट – पार्टीभित्रका असमझदारीका बिषयमा छलफल

बिआरटीनेपाल २०७५ माघ २६ गते ७:३३ मा प्रकाशित

भेनेजुयला प्रकरणले नेपाली राजनीति तरंगित भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीका विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्ब्याउन नहुने विषयमा छलफल भएको थियो। भेनेजुयला संकटका विषयमा अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तिका विषयमा प्रधानमन्त्री ओलीले प्रचण्ड शब्दमा ’चिप्लिए’ को बताएपछि दुई अध्यक्षबीच सम्बन्ध चिसिएको थियो । जसको जवाफमा प्रचण्डले सरकार र पार्टी बोलिसकेकाले व्यक्तिले के भन्यो भन्ने कुराले अर्थ नराख्ने बताउनुभएको थियो ।

शुक्रबार भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति आलोचना गरेपछि नेकपा नेतृत्वको असमझदारी सतहमा आएको थियो । पार्टी एकीकरणकै चरणमा रहेका बेला अध्यक्षद्वयबीच मन मिल्न नसकेको भन्दै कार्यकर्ता स्तरबाट आलोचना समेत हुन थालेको छ । दुई अध्यक्षबीच सम्बन्ध बिग्रन लागेको भन्दै चर्चा हुन थालेपछि प्रधानमन्त्री ओलीले यसलाई लामो समय राख्न नहुने र सम्बन्ध बिगार्न दिन नहुने बताउनुभयो । जवाफमा प्रचण्डले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भइरहेको भन्दै असन्तुष्टि राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू