अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

ई सिगरेटको सेवन स्वास्थ्यका लागि हानिकारक, बास्नादार केमिकलले क्यान्सर हुने खतरा

बिआरटीनेपाल २०७५ माघ २६ गते २:०३ मा प्रकाशित

सामान्ययता (धुम्रपान) चुरोट खाने बानी परेकाहरुलाई यसको लत छुटाउन निकै मुस्किल हुन्छ । चुरोटको लत छोड्छु भनेर पटक पटक अठोट लिएपनि उनीहरु पूर्णतः यसको लतबाट छुट्कारा पाउन अधिकांशले सकिरहेका छैनन् ।

धुम्रपान स्वास्थ्यका लागि हानिकारक रहेको थाहा हुँदाहुँदै पनि यसको लत छुटाउन नसक्दा सेवनकर्ताहरु शारीरिक, मानसिक तथा सामाजिक समस्या भोग्न बाध्य बनेका छन् । धुम्रपानको लत छुटाउन नसकेकाहरुलाई हानि कम र्पुयाउने दाबीका साथ ई सिगरेट बजारमा ल्याइएको हो । तर, स्वास्थ्यका लागि इ सिगरेट पनि उत्तिकै हानिकारक रहेको स्वास्थ्यकर्मीहरुको दावी रहेको छ ।

ई सिगरेट हेर्नमा आम सिगरेट भन्दा फरक रहेपनि स्वास्थ्यका लागि हानिकारक नै रहेको उनीहरुले बताउदै आएका छन् । यसमा रहेको निकोटीनले स्वास्थ्यमा नराम्रो असर पार्छ । आजभोलि मानिसहरु हानि नहुने भन्दै आम सिगरेटको सट्टा ई सिगरेटको प्रयोग गरिरहेका छन् । धुँवा दिने सिगरेट भन्दा ई सिगरेटले स्वास्थ्यलाई नोक्सान नपुर्याउने सेवनकर्ताहरुको धारणा रहेको छ ।

ई सिगरेट व्याट्रीबाट चल्ने एउटा यस्तो डिभाइस हो जसमा लिक्विड भरिएको हुन्छ । यसमा निकोटीन र यस्तै अरु हानिकारक केमिकलको घोल राखिएको हुन्छ । निकोटीन आफैमा एक नशालु पदार्थ हो जसको सेवन मानिसहरुका लागि लतमा परिणत हुन्छ । त्यसकारण मुटु सम्बन्धी रोगीहरुले ई सिगरेटबाट पनि टाढा रहनुपर्छ ।

वैज्ञानिक खोजमा भनिएको छ कि यसबाट धमनीमा गम्भीर असर पर्न सक्छ । यसको लत बस्यो भने डिप्रेशनको समस्या पनि हुन सक्छ । गर्भवती महिलाका लागि पनि ई सिगरेट खतरनाक सावित हुन सक्छ । यसले गर्भमा रहेको शिशुमा नराम्रो असर पर्न सक्छ । ससाना बालबालिकाको अगाडि पनि यसको सेवन गर्नु हुँदैन किनभने यसले उनीहरुको दिमागी विकासमा असर पार्छ ।

ई सिगरेटमा निकोटीनका साथसाथै अरु पनि बास्नादार केमिकल राखिएको हुन्छ । जसको सेवन गर्दा फोक्सोको क्यान्सरको जोखिम पनि हुन सक्ने चिकित्सकहरुको भनाई छ । त्यसैले ई सिगरेटको सेवनबाट पनि टाढा नै रहनु वुद्धिमान मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू