अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

आईसीसीले पठायो रोकिएको नेपाली क्रिकेट खेलाडीको मासिक तलव

बिआरटीनेपाल २०७५ माघ २६ गते १:१९ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब निकासा गरेको छ । आईसीसीले आज सो रकम बैंकबाट राष्ट्रिय खेलकुद परिषद्को खातामा जम्मा गरिदिएको हो ।

सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको छ। २०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले पछिल्लो समय तलब पाउन सकेका छैनन् । क्यान निलम्बनमा परेपछि प्रत्यक्ष रुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।

खेलाडीको तलब रिलिज गर्नका लागि राखेपले ३ पटकसम्म पहल गरेको थियो । सुरुमा दुई किस्तामा तलब निकासा गर्ने बताए पनि राखेपका सदस्य सचिव केशबकुमार विष्टले थप पहल गरेपछि एकमुष्ट रकम जम्मा भएको प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।

तलब वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालगायतको सल्लाहमा खेलाडीको नयाँ वर्गीकरण गरेर आईसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् । ए श्रेणीका खेलाडीले मासिक ३५ हजार, बी श्रेणीका ले २५ हजार तथा सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलाडीहरुको वर्गीकरण निम्नानुसार गरिएको छ :

ए श्रेणी : कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी

बी श्रेणी : शक्ति गौचन, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, अनिलकुमार शाह

सी श्रेणी : विनोद भण्डारी, सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू