अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

निर्मला पन्त प्रकरणमा प्रहरीलाई सफलताः हत्यारा पत्ता लागेको दावी, १/ २ दिनभित्रै सार्वजनिक गर्ने तयारी

बिआरटीनेपाल २०७५ माघ २६ गते ०:४७ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लागेको बताईएको छ । लामो समयको अनुसन्धानपछि प्रहरी हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ ।

निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक र दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ । सो प्रकरणलाई सरकारको असफलतासँग जोडेर प्रतिपक्षीसहितले आवाज उठाउँदै आएका छन् ।

सरकारले भने ९५ प्रतिशत अपराधका घटनामा नेपाल प्रहरीलाई सफलता मिलेको दाबी गर्दै निर्मला प्रकरणमा गम्भीर छानबिन भइरहेको बताउँदै आएको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने बताउनुभएको थियो ।

निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरु डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका छन् । यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ । यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बताएको छ ।

हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू