अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

रौद्र रूप

रन्जु मार्ग २०७५ माघ २४ गते २२:४८ मा प्रकाशित

लघुकथा

मध्यरातमा उसलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएर राखी दिएका थिए केही मान्छेहरूले | उ बेहोस अवस्थामा थियो |उसका हात गोडा आगोले पोलेर सबै डढेका थिए |

‘कसले ल्यायो यसलाई ? ‘- उसलाई देखेर डाक्टरले नर्सतिर हेरेर सोधे |
‘खोइ , थाहा भएन ‘- नर्सले भुईँतिर आँखा झुकाउँदै बोली |
‘ यिनको नाम दर्ता भएको छ ? अनि पैसा तिरेका छन् त यिनले ? ‘ – डाक्टरले फेरी सोधे |

० नर्स झटपट दर्ता शाखातिर लागी ,अनि फाइल पल्टाउँदै त्यो व्यक्तिको नाम , थर हेर्न थाली |
‘केही भेटियो त फाइलमा ?’ – डाक्टरले नजिक आएर सोधे |
‘अहँ , फाइलमा त कुनै नयाँ बिरामीको नाम दर्ता गरेको पाइएन |’- नर्सले डराउँदै भनी |

‘यसका कोही साथीभाइ , आफन्तहरू छन् कि हेरेऊ त ? ‘-यताउता हेर्दै डाक्टरले सोधे |
‘अहँ ,कोही पनि देखिएन त्यतातिर |’
‘कसले ल्यायो त यसलाई ?’- ठुलो स्वरमा डाक्टरले नर्सलाई थर्काए …

० यता बिरामीको होस खुल्यो | उसले अय्या .. अय्या … भन्दै डाक्टरतिर हेरयो , देख्यो डाक्टरको रौद्र रूप ,डढेको पीडा भन्दा भयानक !
उसले सहन सकेन अनि बिदा भयो यो धर्तीबाट सधैँ – सधैँको लागि !!!