अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

सर्वाधिक पुरस्कार राशिको भयो डिपिएल, विजेताले ३० लाख पाउने

बिआरटीनेपाल २०७५ माघ २३ गते ५:०४ मा प्रकाशित

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको पुरस्कार राशि सार्वजनिक गरेको हो।

दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको डिपिएलमा यस वर्षको विजेतालाई ३० लाख नगद दिइने एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए। फाप्ला मैदानमा आयोजित पत्रकार सम्मेलनमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने छ। हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। आइसीसीले मान्यता दिएको डिपिएलको तेस्रो संस्करण सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हो।

यस अघि पोखरा प्रीमियर लिग (पीपीएल) को बिजेताले २७ लाख र एभरेष्ट प्रीमियर लिग (इपिएल)को बिजेताले २५ लाख प्राप्त गरेका थिए।माघ २६ गतेबाट फाप्ला क्रिकेट मैदानमा शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता हुँदै छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजनामा ५ करोड बढी खर्च हुने जनाएको छ। प्रतियोगिता अवलोकनका लागि ५ हजार बढि अट्ने अस्थायी प्याराफिट निमार्ण गरिएको छ।

प्रतिक्रिया