अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

कविताको कुम्भ मेलामा खनालको सहभागिता

बिआरटीनेपाल २०७५ माघ २२ गते १२:०४ मा प्रकाशित

काठमाडौँ, बङ्गलादेशको कविता कुम्भ भनेर चिनिने राष्ट्रिय कविता उत्सवमा सहभागी भई नेपाल स्रष्टा समाजका महासचिव पुष्पा खनाल नेपाल फर्कनुभएको छ । राष्ट्रिय कविता परिषद्, बङ्गलादेशको निमन्त्रणामा खनाल बङ्गलादेश जानुभएको हो ।

सो उत्सव फेब्रुअरी १ र २ तारिखमा ढाकामा आयोजना भएको थियो । सन् १९८७ मा मूलतः दुर्व्यवहार र अत्याचारका विरुद्धमा यो कविता उत्सवको सुरु भएको हो । यस वर्षको उत्सव सन् १९६९ को जनविद्रोहको ५० वर्ष पुगेको बेला यसका सहिदहरूको सम्मानमा समर्पित थियो । बङ्गलादेशका राष्ट्रकवि काजी नजरूल इस्लाम, कलाविद् जैनूल अवेदीन, पतुवा कमरूल हसन तथा भाषा आन्दोलनका अन्य सहिदप्रति श्रद्धाञ्जली अर्पणपछि कविता उत्सवको उद्घाटन गरिएको थियो ।

बङ्गलादेशका प्रख्यात कवि असद चौधरीले राष्ट्रिय कविता उत्सवको उद्घाटन गर्नुभएको हो । साहित्यको एउटा विधा कविताले बङ्गलादेशीहरूको स्वतन्त्रतामा ठुलो भूमिका खेलेको उल्लेख गर्दै बङ्गलादेशीहरूका लागि कविता अन्याय, अत्याचार र हिंसाका विरुद्धको प्रेरणा रहेको उहाँले बताउनुभयो ।

देशकै ठुलो कविता उत्सवमा आफूलाई निमन्त्रणा गरेकोमा आयोजकलाई धन्यवाद दिँदै महासचिव खनालले यस्तो कार्यक्रमले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । “यस्ता उत्सवहरूको आयोजनाले साहित्यका मुर्धन्य हस्तीहरूबाट पालनपोषण हुँदै आएको बङ्गाली साहित्यको धरातललाई फैलन मद्दत गर्दछ” उहाँले भन्नुभयो “मजस्तो साहित्यको विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा भाग लिन पाउनु अहोभाग्य हो । यसले मेरो देशको प्रतिनिधित्व त भयो नै; मेरो आफ्नो साहित्यिक उचाइलाई पनि बढाइदिएको छ ।” यस्ता कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यलाई विश्वबजारमा पुर्‍याउन सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । खनालले अङ्ग्रेजी भाषामा अनुवाद गरिएका दुई वटा कविताहरू पनि वाचन गर्नुभएको थियो ।

बङ्गालीहरूको जीत भनेको कविताको जीत हो भन्ने मूल विषय रहेको उत्सवमा देशभरका चार सयभन्दा बढी कविहरूले कविता पाठ गरेको थिए । बङ्गाली कविका अतिरिक्त कविता उत्सवमा नेपाल, भारत, टर्की, कङ्गो, स्पेन, इराक, श्रीलङ्का, युके, स्विडेन, माल द्वीप, मलेसिया र उरुग्वे गरी १२ देशका १९ जना कविहरूको सहभागिता रहेको थियो ।

जातीय कविता परिषद्का अध्यक्ष, ढाका विश्वविद्यालयका भाइस् चान्सलर मोहम्मद समादले फेब्रुअरी १ लाई कविता दिवसका रूपमा घोषणा गर्न अनुरोध गर्नुभयो । परिषदमा महासचिव तारिख सुजाताले बङ्गाली कविहरू सधैँ प्रगतिको पक्षमा रहेको बताउँदै प्रत्येक आन्दोलनको पछि कविताको ठुलो हात रहेको बताउनुभयो ।

कवितामार्फत पुर्‍याउनु भएको योगदानको कदर गर्दै कवि हबिवुल्लाह सिराजीलाई कार्यक्रममा सम्मान गरिएको थियो । कविता उत्सवमा कविता पाठ, कवि र कविता विषयमा कविता सेमिनार, छलफल तथा कविताका पुस्तकहरूको प्रदर्शनी भएको थियो ।

उहाँले शिक्षामन्त्री डा. दिपू मोनी, संसद् सदस्य मुक्तादिर चौधरी, ढाका उच्च अदालतका न्यायाधीश मुजिबुर रहमानलगायतका उच्च व्यक्तिहरू, विश्व विद्यालयका प्राचार्यहरू तथा बङ्गलादेशका प्रख्यात कवि, साहित्यकारहरूसँग भेट्न गर्नुभएको थियो । सो क्रममा नेपाली साहित्य, नेपाल र बङ्गलादेशको साहित्यिक सम्बन्ध र यसको विश्वव्यापीकरणका विषयमा छलफल भएको थियो ।

यस्तै खनालले फेब्रुअरी १ तारिखदेखि सुरु भएको किताब मेलाको पनि अवलोकन गर्नुभएको थियो । यो मेला एक महिनासम्म चल्नेछ । मेलामा सातसयभन्दा बढी प्रकाशन गृह तथा संस्थाहरूका ९४९ बढी स्टलहरू रहेका छन् । जसमा अधिकतम बङ्गाली भाषाका किताबहरू पाइन्छन् भने केही स्टलहरूमा अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरूपनि रहेका छन् । पहिलो ४ दिनमा मात्र ३८५ किताबहरू प्रकाशन गरिएका छन् । यस पुस्तक मेलामा गत वर्ष ८६ करोडको कारोबार भएको थियो भने यस वर्ष अर्ब नाघ्ने बङ्गला अकाडेमीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू