अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

जीवनलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७५ माघ २२ गते ७:२३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो ।

“शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील बन्नुपर्छ ।” राष्ट्रपति भण्डारीले समाजप्रति सामुदायिक विद्यालयको गहन दायित्व रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । राज्यले सार्वजनिक शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको भन्दै राष्ट्रपति भण्डारीले मुलुकलाई अति कम विकसित राष्ट्रबाट कम आय भएको राष्ट्रमा विकसित गर्ने राष्ट्रिय लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई उच्चस्तरीय राष्ट्रिय भावनाबाट प्रेरित गर्न शिक्षा क्षेत्र सङ्कल्पित हुनुपर्छ ।”

राष्ट्रपति भण्डारीले नदी कटानलाई रोकी बालुवा आदि स्रोतको संरक्षण गर्दै नजिकका जमीनको सदुपयोग गर्नुपर्ने औँल्याउनुभयो । ‘‘जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सर्वत्र परिरहेको सन्दर्भमा नदी कटानलाई व्यवस्थित गरी जलवायु अनुकूलनमा काम गर्न सकिन्छ’’ उहाँले भन्नुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य एवं माध्यमिक तहको शिक्षा निःशुल्क बनाउनेतर्फ सरकार लागेको बताउनुभयो । उहाँले शिक्षा जनताको अधिकार भएको बताउँदै शिक्षामा आमूल परिवर्तन गर्नु आवशयक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू