अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

पूर्वमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिआरटीनेपाल २०७५ माघ २२ गते ६:५७ मा प्रकाशित

समाजकल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौंको भृकुटीमण्डपस्थित जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।अख्तियारले तत्कालिन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष न्यौपानेसहित तत्कालिन १२ पदाधिकारी र दुई जना मेला सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री न्यौपाने, परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, सदस्य–सचिव रविन्द्रकुमार यादव, सदस्यहरु मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र हरि न्यौपाने विरुद्ध मुद्दा दायर गरेको हो । त्यसैगरी भृकुटीमण्डप फनपार्क मेला सञ्चालक टेकबहादुर गुरुङ र प्रमुख सञ्चालक रविन्द्र गुरुङविरुद्ध पनि विगो असुलउपर हुने गरी जरिवाना तथा सजाय मागदाबी गर्दै अख्तियारले मुद्दा दायर भएको हो ।

यस्तै, परिषद्का तत्कालिन कोषाध्यक्ष रत्न गाहामगर, निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वार, कानुनी सल्लाहकारहरु प्रोमसिंह धामी र जगदेव चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कारवाहीको माग दाबी गरिएको छ ।

फनपार्क मेला क्षेत्रमा रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरित अनियमितता गरी परिषद्लाई हालसम्म ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ । सार्वजनिक बोलपत्र आह्वान नगरी मिलेमतोको आधारमा न्यून दरमा जग्गा भाडामा दिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू