अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

सोनाम ल्होसार मनाईयो

बिआरटीनेपाल २०७५ माघ २२ गते ६:०५ मा प्रकाशित

तामाङ समुदायको मौलिक पर्व ल्होसार मनाईएको छ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइएको हो । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष शुरु भएको छ । यो २८५५ औँ सोनाम ल्होछार हो ।

मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको जानकारहरु बताउँछन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा सोनाम ल्होछार पर्व मनाउने गरिन्छ ।

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकारहरु बताउँछन् । ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवानको प्रार्थना तथा पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीहरु पूजापाठ गर्दछन् ।

ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले मंगलवार राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा तामाङ समुदायका महिला पुरुष आ आफ्नो जातीय पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू