अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

फन पार्क भाडा प्रकरण: पूर्वमन्त्री न्यौपानेसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०७५ माघ २१ गते १८:५६ मा प्रकाशित

काठमाडौँ । पूर्व समाज कल्याण मन्त्री बद्री न्यौपानेसहित १४ जना विरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर भएको छ । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फन पार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत अनियमितता गरेको कारण देखाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्द आयोगले ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ २० पैसा रकम हिनामिना गरेको दाबी गर्दै सोही रकम बराबर बिगो असुल हुनुपर्ने माग गरेको छ ।

अध्यक्ष न्यौपानेसहित परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य हरि न्यौपाने, सदस्य मोहनराज शर्मा, सदस्य मदनकुमार लाल कर्ण र परिषद्का तत्कालीन सदस्य–सचिव रविन्द्र कुमाल लगायत विरुद्ध मुद्दा दायर गरिएको छ ।

समाज कल्याण मन्त्री तथा समाज कल्याण परिषद्को अध्यक्ष हुँदा बिना प्रतिस्पर्धा भृकुटीमण्डपको ६० रोपनी जग्गा आर्थिक लेनदेन गरी टेकबहादुर गुरुङलाई भाडामा दिने निर्णय गरेकाले मुद्दा दायर गरिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

न्यौपाने मन्त्री हुँदा २०६९ साल भदौ २० गते प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँमा १५ वर्षका लागि सो जग्गा भाडामा दिने निर्णय भएको थियो । आयोगले त्यति रकममा भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा प्रतिमहिना प्रतिरोपनी जग्गामा ९ हजार २ सय ५० रुपैयाँ घाटा भएको ठहर गरेको छ ।

गुरुङले २०६० सालदेखि भृकुटीमण्डपको ६० रोपनी क्षेत्र भाडामा लिँदै आएका छन् । पूर्वश्रम राज्यमन्त्रीसमेत रहेका गुरुङ काँग्रेसका नेता समेत हुन् । उनी मनाङ काँग्रेसका सभापति छन् । आयोगले अनुसन्धानका क्रममा जग्गा भाडामा लगाउँदा सार्वजनिक खरिद ऐन र परिषद्कै नियमावली विपरीत निर्णय गरेको ठहर भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

आयोगले हालसम्म उक्त ठेक्काबाट समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ घाटा भएकाले त्यति रकम निर्णय प्रक्रियामा सहभागीहरूबाट असुलउपर गर्न माग गरेको छ ।

अभियोगपत्रमा उल्लेख भएअनुसार परिषद्को नाममा रहेको भृकुटीमण्डपकै इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार पाच सय ७१ रुपियाँ र सँगै रहेको फनपार्कको भाडा यसको तुलनामा निकै रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू