अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

चीनसँग व्यापारिक नाका खुल्ला भए नेपालमा पूर्वाधार निर्माणमा सहज हुने: अर्थमन्त्री डा. खतिवडा

बिआरटीनेपाल २०७५ माघ २० गते ११:०१ मा प्रकाशित

काठमाडौँ, अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालनमा आएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताउनु भएको छ । आज अर्थ मन्त्रालयमा चिनियाँ राजदूत हौ यान्की (ज्इग् थ्ब्ग्त्तक्ष्)सँगको भेटमा अर्थमन्त्री डा.खतिवडाले मुलुक संविधान कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धिमा अघि बढेकोले उत्तरी सीमा नाकाहरू सञ्चालनमा आए पूर्वाधार निर्माणमा सहज हुने बताउनु भएको हो ।  उहाँले भारत र चीन जोड्ने नेपालको छोटो मार्ग मुस्ताङको कोरला नाकामा चिन तर्फका व्यापारिक संरचनाहरू निर्माण भइसकेको भए पनि नेपाल तर्फ बाँकी नै रहेको स्मरण गराउनु भयो । उहाँले यो नाका जति छिटो सञ्चालनमा आयो, त्यतिकै त्रिदेशीय व्यापारमा सहज हुने बताउनुभयो । मन्त्री खतिवडाले दुई देशबिचमा हुने अनौपचारिक व्यापारलाई औपचारिक रूपमा रूपान्तरण गर्न जोड दिनु भयो । उहाँले दुवै देशका आपसी पारस्परिक व्यापारिक सम्झौताहरूलाई समय सापेक्ष परिमार्जन र सुधार गर्न आवश्यक भएको भनाई राख्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा भएका बिआरआई अन्तर्गतका केही आयोजनाहरू तयारी गरिएको विषय चीन सरकारलाई स्मरण गराउनु भयो । उहाँले भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न लामो समय देखि थाती रहेको चिनियाँ बैङ्कका शाखा नेपालमा विस्तार गर्न आवश्यक भएको बताउनुभयो ।

पूर्वाधार तथा अन्तर देशीय सडक सञ्जाल विकास गरी दुवै देशको व्यापार र पर्यटनमा सहयोग हुने मन्त्री खतिवडाले विश्वास व्यक्त गर्नुभयो ।
भेटमा चिनियाँ राजदूत हौ यान्कीले वर्तमान सरकार बहुमत सहितको स्थिर सरकार भएकाले दुवै देशबिचको सम्बन्धलाई अझै मजबुत बनाउँदै पारस्परिक हित अभिवृद्धिबाट आगामी दुई तीन वर्षको अवधिमा नेपालमा विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत यान्कीले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्तिलाई सघाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । दुवै देशले एक आपसमा नजिकबाट सहकार्य गर्न चाहेको भन्दै यो सम्बन्ध दुवै मुलुकको लागि फाइदाजनक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उक्त सम्मेलनमा धेरै भन्दा धेरै चिनियाँ लगानीकर्ताहरूलाई सहभागी गराउन आवश्यक सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्प पछिको पुनर्निर्माण लगायतका परियोजनाहरूमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । आयोजनाहरू सम्पन्न गर्नको लागि आवश्यक समय चाहिने भन्दै राजदूत यान्कीले नेपाल सरकारका विभिन्न मन्त्रालयका जिम्मेवार निकायहरूबाट समन्वय र सहयोगको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

चिनियाँ सहयोगमा सञ्चालित आयोजनामा प्रयोग हुने सामाग्रीहरूमा कर छुटको विषयमा देखा परेका समस्यालाई सहजीकरण गर्न नेपाल सरकारसँग आग्रह गर्नु भयो । उहाँले दुवै देश छिमेकी मात्र नभई सांस्कृतिक रूपमा समेत अन्तर सम्बन्धित भएको स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू