अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

नर्थ क्यारोलाइना यातायात विभागमा नेपाली भाषामा परीक्षा दिन पाउने गराउन पहल सुरु

विजय थापा २०७५ माघ १८ गते २२:४३ मा प्रकाशित

डिसी, अमेरिकाको मेरिल्याण्ड राज्यमा गरिएको पहल जस्तै नर्थ क्यारोलाइना यातायात विभागमा नेपाली भाषामा परीक्षा दिन पाउने गराउन पहल प्रारम्भ गरिएको छ ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल, नर्थ क्यारोलाइना शाखाका अध्यक्ष बाबुराम पोखरेल एवं एनआरएनए इलोनोइज शाखाका संस्थापक अध्यक्ष तथा एनआरएनए एनसिसि हेल्पडेस्क समितिका केन्द्रीय सदस्य सुमन बस्तीको प्रतिनिधि मण्डलले नर्थ क्यारोलाइनाको गभर्नरको कार्यालय मार्फत नर्थ क्यारोलाइना यातायात विभागका सहायक निर्देशक रोबी क्विन भेट गरी निवेदन समेत बुझाएको छ ।

नर्थ क्यारोलाइना यातायात विभाग (एनसीडिओटि)मेरिल्याण्डमा बुझाइएको जस्तै गरी निवेदन पेस गरिएको एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलले बताए । साथै नर्थ क्यारोलाइना यातायात विभागका सहायक निर्देशक रोबी क्विनले यसलाई प्रक्रियामा राखी दिने आश्वासन पनि दिएको पोखरेलले बताए । साथै उनले सामाजिक सञ्जालमा पनि उक्त कुरा राखेका छन् ।

अक्टोबर १, २०१६ देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन नेपाली भाषामा लिखित परीक्षा दिन पाउने निर्णय भई लागू समेत भएकोले नेपालीहरूले नेपाली भाषामा लिखित परीक्षा दिई रहेका छन् ।

उक्त जानकारी गत सेप्टेम्बर १८, २०१६ का दिन गैर आवासीय नेपाली सङ्घ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन) का प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी गराएकी थिइन् । स्मरण रहोस् मेरिल्याण्डमा उक्त दिन नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण गरिएको थियो ।

उक्त समारोहमा मेरिल्याण्डका गभर्नर ल्यारी होगनले हामी नेपाली समुदायसँग अझ काम गर्न चाहन्छौ भनेको सन्देश सुनाइएको थियो । मेरिल्याण्डमा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन) मा सबै पहल तत्कालीन एनआरएन मेरिल्याण्ड शाखाका संस्थापक अध्यक्ष जेदु पोखरेलको नेतृत्वमा उनका समिति/टोलीको अथक प्रयास पछि सफल भएको थियो ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाका वर्तमान उपाध्यक्ष जेदु पोखरेलले मेरिल्याण्डमा जस्तै नेपालीहरूले नेपाली भाषामा नै परीक्षा दिन पाउन शकुन भनी अन्य राज्यमा पनि पहल गरी रहेका छन् । उनले न्यु योर्क राज्यमा पनि पहल गरेका थिए । अमेरिकामा सबै भन्दा पहिला नेपाली भाषामा चालक अनुमति पत्रको लागि नेपाली भाषामा परीक्षा दिन पाउने राज्य मेरिल्याण्ड भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू