अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

साला फेसबुक

रामप्रसाद खनाल २०७५ माघ १८ गते १८:२४ मा प्रकाशित

साला फेसबुक !!
श्रीमानका श्रीमतीहरू लुटिस्
श्रीमतीहरूका श्रीमानहरू लुटिस्
छोरा छोरी नाति नातिनी
परिवार सब लुटिस्
बोलचाल बन्दै गराइस्
घर बेघर जस्तो गराइस्
कोही कसैसँग बोल्दैनन्
मनका कुरा तेरै भित्तो बाहेक
अहँ अन्यत्र खोल्दै खोल्दैनन्
काम काज बिनै व्यस्त गराइस्
परिवार भाँड्न आँखा लगाइस्
साला फेसबुक !
तैंले गर्न खोजेको के हँ ??
के तेरै सती जानु पर्ने म ??

श्रीमती र श्रीमान् सँगै बेडमा जाँदैनन्
परिवार सँगै बसेर गफिंदै खाना खांदैनन
मान्छे भएर पनि घरहरू सुनसान
वर्षौँ पछि भेट्दा पनि आत्मीयता हरायो
माया ममता सम्बन्ध हरायो
खोइ संसार के गरायो गरायो
अर्काकी श्रीमती छोरी बुहारी पनि
अनजान अर्कैले मन परायो
नानाभाँती लेख्ने दिन आयो
कली होइन महा कली आयो
तँलाई चलाएर खोइ कसले के पायो ??
साला फेसबुक !
तैंले गर्न खोजेको के हँ ??
के तेरै सती जानु पर्ने म ??

तेरै भित्तोमा जन्मदिन मनाउनु पर्ने
बिना सित्तैको एनिभर्सरी जनाउनु पर्ने !
श्रध्दान्जली, समवेदना देखी बधाई सम्म
तेरै भित्तोमा कोर्नु पर्ने
फोहोरीका आचिरुपी स्टाटसहरु
मन नपरे पनि सोहोर्नु पर्ने
नोकर जस्तै पो बनाइस् त बाबै
बिना तलब काम लगाइस् बाबै
चौबिसै घण्टा जागाराम राख्ने
यसो यता उती लागे घन्टी बजाउने
कति सम्म हो तैँले कजाउने ??
साला फेसबुक !
तैंले गर्न खोजेको के हँ ??
के तेरै सती जानु पर्ने म ??

नैसियत पनि कस्तो दिएको तैंले
आँखा झिमिक्क गर्न नपाइने
घोप्टे मुन्टो उठाउन नपाइने
किचनमा तरकारी डढेको पत्तो नहुने
परिवारकै सदस्य सडेको पत्तो नहुने
अरू त अरू पाइखाना बस्दा पनि
तेरै पछि पछि जानु पर्ने
तेरै कारण फोन पाइखानामा लानु पर्ने
आँखाका ज्योतिहरू खाइस्
मान्छेका सम्बन्धहरू खाइस्
काम काज सब खाइस्
भन त सब कुरा खाएर
आखिर तैँले के पाइस् ??
साला फेसबुक !
तैंले गर्न खोजेको के हँ ??
के तेरै सती जानु पर्ने म ??

दुनियाँका घर भँडाइस्
कयौँलाई मर्नै पर्ने गराइस्
भन त फेसबुक
यस्तो गराएर आखिर तैँले के पाइस् ??
तेरो सेल्फी रे !
भिडियो क्लिप रे !
तेरै भित्तोमा राख्न
फोटाहरू खिच्नु पर्ने
महँगा सारी गहना पात र लुगा घिच्नु पर्ने !
लाइक कमेन्ट र शेयरका वर्षा
पाए भने आउने रे सबैको हर्ष
निदाउन पनि नदिने
ट्याङ्क टुङ्ग गराइदिने
चौबिसै घण्टा
तेरो फोकटको जागिर मैले किन खानु ??
चिन्दै नचिनेको साथी किन लानु ??
तैंले त हद पनि नागिस बाबै !
सबलाई आफ्नो बनाउन मागिस् बाबै !
साला फेसबुक !
तैंले गर्न खोजेको के हँ ??
के तेरै सती जानु पर्ने म ??