अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

नेपाली युवाको उद्धार गर्न ‘कूटनीतिक प्रयास’ शुरु

देवबहादुर कुँवर २०७५ माघ १८ गते १८:१७ मा प्रकाशित

काठमाडौँ, लिवियामा महिना दिनदेखि बन्धक बनाइएका पाँचजना नेपाली युवाको उद्धार गर्न सरकारले ‘कूटनीतिक प्रयास’ शुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा युरोप हिँडेका म्यादीका धिरज थापा र अमन लोज (मगर), पर्वतका रञ्जीत केसी, सुरेश केसी र ओम गुरुङलाई लिवियामा क्रियाशील स्थानीय एजेन्टले बन्धक बनाएका हुन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईका अनुसार, बन्धक बनाइएका पाँचैजनालाई सकुशल उद्धार गर्न इजिप्टस्थित नेपाली राजदूतावासबाट कूटनीतिक प्रयास भइरहेको छ । गत भदौमा इटाली जान भनेर काठमाडौंँबाट दुवाई हिँडेका ती युवा पुसको पहिलो हप्ता लिविया पुगेका थिए ।
पीडित युवाका आफन्तहरूका अनुसार, लिवियाबाट पैदल तथा जलमार्ग प्रयोग गरी युरोप लैजाने क्रममा त्यहाँ सक्रिय अर्को मानव तस्कर समूह (एजेन्ट) ले पाँचैजनालाई कब्जा लिई बन्धक बनाएको हो ।

बन्धक बनाउने समूहले जनही एकहजार अमेरिकी डलर फिरौती माग गरेको बताइएको छ । पीडितका आफन्तहरू गुनासो तथा उजुरी लिएर परराष्ट्र मन्त्रालय र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ आएपछि सो घटना बाहिर आएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, वैदेशिक रोजगारका नाममा पाँचजना युवासँंग जनही १३ लाख ८० हजार रुपियाँ उठाउने मुख्य अभियुक्त पर्वतका जीतकाजी गुरुङ फरार छन् । उनको खोजी भइरहेको छ ।

गुरङका सहयोगी जसध्वज गुरुङ पोखराबाट र सन्तोष पराजुली काठमाडौँबाट पक्राउ परेका छन् । जीतकाजीले नै इटालीमा बसोवास गर्दै आएकी आफ्नी दिदीले जागिर लगाइदिने भन्दै विश्वासमा पारी लिविया पु¥याएको भनाइ प्रहरीको छ ।

लिवियामा तैनाथ नेपाली शान्तिसेनाले समेत बन्धक बनाइएका युवाको उद्धारको प्रयास गरिरहेको जानकारी दिएको छ ।

सैनिक प्रवक्ता यमप्रसाद ढकालले घटनास्थल नेपाली शान्तिसेना तैनाथस्थलबाट दुईसय किलोमिटर टाढा भएकाले स्थानीय सुरक्षा निकायसँग समन्वय गरी उद्धारको प्रयास भइरहेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारका नाममा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका जसध्वज र सन्तोषले ती युवालाई गाँउबाट काठमाडौंँसम्म लिवियामा बन्धक रहेका रन्जित केसीले ल्याएको र काठमाडौँबाट दुवाईसम्म आफूहरूले पठाएको वयान प्रहरीलाई दिएका छन् ।

दुवईमा करिब चार महिनाको बसाईपछि उनीहरूलाई दुवईमा सक्रिय मानव तस्करहरूले लिविया पु¥याएका थिए । लिवियाबाट युरोप लैजाने क्रममा मानव तस्करहरुबीच नै पैसाको विषयमा विवाद भएपछि बन्धक बनाइएको हुनसक्ने अनुमान प्रहरीको छ । परराष्ट्र मन्त्रालयले बन्धक पाँचैजनाको सकुशल उद्धारका लागि कूटनीति तवरबाट प्रयास शुरु भएकाले आफन्तलाई नआत्तिन आग्रह गरेको छ । गोरखापत्रबाट 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू