अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

विदेशिदै नेपाली नर्स, प्रमुख गन्तव्य अस्ट्रेलिया दोस्रो अमेरिका

बिआरटीनेपाल २०७५ माघ १७ गते २२:५० मा प्रकाशित

काठमाडौँ, नेपाली नर्सको रोजगारी तथा अध्ययनको प्रमुख गन्तव्य अस्ट्रेलिया बन्ने गरेको छ । संयुक्त राज्य अमेरिका र दुबई क्रमशः दोस्रो र तेस्रो रोजाइमा पर्दै आएको छ ।

यसवर्षको मङ्सिरसम्म विदेशिने नेपाली नर्सको सङ्ख्या दुई हजार एक सय पुगेको छ । २०५९ देखि हालसम्म १२ हजार ९१ जना नर्स विदेशिएका छन् । गत वर्ष दुई हजार ३९७ जनाले नेपाल नर्सिङ परिषद्बाट ‘भेरिफिकेसन लेटर’ लिएका थिए । परिषद्का रजिस्ट्रार विन्दा घिमिरेका अनुसार, यस वर्षको पछिल्लो तथ्याङ्कले पनि सबैभन्दा बढी अस्ट्रेलिया नै गएको पाइन्छ । यस वर्षको मङ्सिर १० देखि पुस २४ सम्मको अवधिमा सबैभन्दा बढी १७९ जना अस्ट्रेलिया, १६० अमेरिका, दुबई २१, बेलायत १३, आयरल्यान्ड, हङकङ, न्युजिल्याण्डबाट एक–एक गरी जम्मा ३७९ जना नेपाली नर्स विदेशिएका छन् । स्टाफ नर्स, नर्सिङमा स्नातक, र स्नातकोत्तर गरेकाहरू सबैभन्दा बढी विदेश जाने गरेका छन् ।
अस्ट्रेलियामा कार्यरत रजिस्टर्ड नर्स निकिता पौडेलले अस्ट्रेलियामा नर्सलाई काम पाउन बढी सम्भावना भएकाले पनि आकर्षण बढेको बताउनुभयो । विद्यार्थीका लागि ‘सिफ्ट’ मिलाएर काम गर्न, कलेज पढ्न र परिवारका सदस्यसँगको समय व्यवस्थापन गर्न सजिलो हुने गरेको अनुभव उहाँको छ ।

अस्ट्रेलिया अवसर मात्र होइन चुनौती पनि धेरै छन् । अस्ट्रेलियामा नर्सिङ र इन्जिनियरिङ अध्ययन गर्न एक्लै आउनेका लागि पढाइको शुल्क तिर्न निकै कठिन हुने अनुभव पौडेलको छ । उहाँका अनुसार, पढाइ अनुसारको काम पाइँदैन, नर्स वा इन्जिनियरिङ पढेर आउनेले सुरुमा क्लिनर, हाउस किपिङको काम गरेर खान र बस्नलाई नै कठिन छ । भाषाको समस्या पनि ठुलै रहेको छ । नेपालमा बोलिने अङ्ग्रेजी र अस्ट्रेलियामा बोलिने अङ्ग्रेजीबिच निकै फरक छ । भाषामा दक्षता नभएकाले अरूको लहै लहैमा लागेर नआउन पनि पौडेलको सुझाव छ ।

नेपाल नर्सिङ परिषद्मा हालसम्म ८५ हजार ८२ जना नेपाली नर्स र ८४२ जना विदेशी नर्स दर्ता भएका छन् । २०५३ सालबाट दर्ता प्रक्रिया सुरु भएको हो । सन् २०१२ बाट लाइसेन्स लिनका लागि परीक्षा लिन थालिएको हो । त्यो भन्दा अगाडि दर्ता मात्र गरिन्थ्यो । परिषद्बाट प्राप्त जानकारी अनुसार, स्टाफ नर्सभन्दा माथिको दर्ता ५३ हजार २७८ जना छन् । जसलाई रजिस्टर्ड नर्स (आरएन) भनिन्छ । परिषद्मा अनमी (सहायक नर्स) मात्रै ३१ हजार ७६४ जना दर्ता छन् । हाल नेपालमा यिनै नर्सबाट सबैभन्दा बढी नेपालीले सेवा पाएका छन् ।
नेपालमा रोजगारी न्यून

हाल नेपालमा करिब २९ हजार जना नर्सहरू रोजगार रहेका छन् । परिषद्का रजिस्ट्रार घिमिरेका अनुसार, सरकारी क्षेत्रमा १२ देखि १३ हजार र बाँकी निजी क्षेत्रमा नर्सहरू कार्यरत छन् । अनमीहरूले भने विदेशमा गएर आफ्नो पढाइसँग सम्बन्धित काम पाउँदैनन् । नेपालमा ११७ वटा कलेजमा नर्सिङ अध्यापन गरिन्छ । प्रवीणता प्रमाणपत्र तहको अध्ययन गर्ने झन्डै चार हजार छन् । बीएचसी गर्ने एक हजार पाँच सय, नर्सिङमा स्नातक दुई हजार र स्नातकोत्तर गर्नेको सङ्ख्या १२० जनजाति छ । त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह हटाइसकेको छ । बर्सेनि अनमी मात्रै दुई हजारको हाराहारीमा उत्पादन हुन्छन् । स्नातक तहको पढाइ हुने कलेज मात्रै ९० वटा रहेको जानकारी परिषद्ले दिएको छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, पोखरा, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सको पढाइ हुने गरेको छ । यस्तै, कर्णाली विज्ञान प्रतिष्ठान, नेशनल एकेडेमी अफ मेडिकल साइन्स, बी.पी. कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान र पाटन विज्ञान प्रतिष्ठानमा पढाइ हुने गरेको छ । अहिले १५ प्रतिशत पुरुषलाई नर्सिङ पढ्नका लागि कोटा छुट्टाइएको छ । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू