अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

केसीको आन्दोलनप्रति शिक्षण अस्पतालमै असन्तुष्टि

सरोज ढुङ्गेल २०७५ माघ १७ गते २२:३८ मा प्रकाशित

काठमाडौँ, पटक पटक अनशन बसेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा प्रवाहमा डा. गोविन्द केसीले अवरोध पु¥याएको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अनसन र अवरोधबाट अस्पतालको सेवा र प्रतिष्ठामाथिनै प्रश्न उठ्न थालेको उनीहरूको धारणा छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, नर्सलगायतले डा. केसीको अनशनले सेवा प्रवाहमा अवरोध आई बिरामीहरू निजी क्षेत्रको अस्पतालमा जान बाध्य भएको बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा त्रिविका प्राध्यापक डा. प्रदीप ज्ञवालीले डा. केसीको अनशनका कारण अस्पतालमा बिरामीलाई समस्या परेको बताउनुभयो । उहाँले अनशनकै कारण अस्पताललाई करोडौँ रुपियाँ रकम घाटा भइरहेको बताउनुभयो । हरेक अनशनका बेला अस्पताललाई दुई करोड रुपियाँ घाटा हुने गरेको भन्दै त्रिवि अन्र्तगतकै कर्मचारी भएर सरकारको विरुद्ध लाग्नु उचित नभएको बताउनुभयो ।

उहाँले अस्पताल परिसरभित्र कुनै पनि अनशन हुनु दुर्भाग्य भएको भन्दै अस्पताल बाहिर गएर रिले अनसन गर्न नेपाल चिकित्सक सङ्घलाई अनुरोध गर्नुभयो । उहाँले अस्पताललाई अनशन तथा हड्तालमुक्त क्षेत्र बनाउनुपर्नेमा जोड्दिँदै अस्पतालभित्र भइरहेको अनशनले आम सर्वसाधारण उपचार नपाएर निजी स्वास्थ्य संस्थामा जानुपरेको बताउनुभयो । उहाँले चिकित्सा शिक्षा सुधारका लागि सुरुका अनशनमा डा. केसीलाई आफ्नो पनि साथ रहेको भन्दै पछिल्ला अनसनहरू राजनीतिक रूपमा प्रेरित हुन थालेकाले आफूहरू विरुद्धमा उत्रनुपरेको बताउनुभयो । डा. ज्ञवालीले चिकित्सकहरूको पेसागत संस्था मानिएको नेपाल चिकित्सक सङ्घमा चरम राजनीति भएको आरोप लगाउनुभयो । उहाँले २० हजार चिकित्सकमा पाँच हजार मात्र सङ्घ अन्तर्गत रहेको भन्दै सङ्घले अस्पताल बन्द गर्ने, अवरोध गर्नेजस्ता आन्दोलन जारी राखे सङ्घ फुट्न सक्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा पूर्व सहायक डिन प्रा.डा. रतिन्द्र श्रेष्ठले अस्पताल राजनीतिक गर्ने स्थल बन्न नहुने बताउनुभयो । उहाँले सरकारले चिकित्सा शिक्षा विधेयकमा केसीका सम्पूर्ण माग पूरा गरे पनि केसीले राजनीतिक मुद्दा उठाएर राजनीतिक गोटी बन्नुभएको बताउनुभयो । क्याम्पसका पूर्व प्रमुख प्रा.डा. रामप्रसाद उप्रेतीले एक जना व्यक्तिको लागि सयौँ बिरामीहरूलाई मर्का परेको बताउनुभयो । उहाँले चिकित्सा क्षेत्रका मागसँगै डा. केसीले राजनीतिक माग अगाडि सार्नुले उहाँमाथि शङ्का व्यक्त गर्ने प्रशस्त ठाउँ रहेको बताउनुभयो ।

यसैबिच, नेपाल चिकित्सक सङ्घले डा. केसीको जीवन रक्षाका लागि भन्दै शुक्रवार देशभरका अस्पताल आकस्मिक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । अनशनको २३ दिनसम्म सरकारले डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेको भन्दै सङ्घले सरकारलाई दबाब दिन आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको हो । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले केसीको माग पुरा नगरे अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिनुभयो ।

डा. श्रेष्ठले बन्दमा सरकारी, गैरसरकारी, निजी तथा मेडिकल कलेजका आकस्मिक बाहेकका कुनै पनि सेवा सञ्चालन नहुने बताउनुभयो । यसअघि सङ्घले डा. केसीको जीवन रक्षाका लागि भन्दै तीन दिन अघि त्रिवि शिक्षण अस्पताल परिसर देशभरका आफ्ना शाखा कार्यालयमा रिले अनशन सुरु गरेको थियो भन्ने समाचार गोरखापत्रमा प्रकाशित भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू