अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

फिल्म ‘रणवीर’ रिलिजको पूर्व सन्ध्यामा कुमारी हलमा फिल्मको भव्य प्रिमियर

प्रदिप कार्की २०७५ माघ १७ गते २२:३० मा प्रकाशित

शुक्रवारबाट फिल्म ‘रणवीर’ प्रदर्शनमा आएको छ । फिल्म रिलिजको पूर्व सन्ध्यामा राजधानी स्थित कुमारी हलमा फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा फिल्मनगरीका अधिकांश परिचित अनुहार देखिएका थिए । झन्डै ४ सय भन्दा बढीले ’ग्राण्ड प्रिमियर’ अन्तर्गत फिल्मलाई हेरे । उक्त सो मार्फत फिल्मले पोजेटिभ फिडब्याक पाएको छ । फिल्मले सम्पूर्णले यसलाई रुचाएका छन् । ‘मसलेदार फिल्म’ को रूपमा तारिफ गरिरहँदा यसको मेकिङको पनि चर्चा बढेको छ । फिल्ममा रणवीरको भूमिकामा सुशील सिटौला प्रस्तुत भएका छन् । उनले फिल्मकै लागि १५ केजी तौल बढाएका थिए, जसलाई प्रिमियर सो मार्फत तारिफ मिल्यो ।

फिल्ममा सुशीलको दुई अवतार देख्न पाइनेछ । दुई डेब्यु गर्ल सुवेक्षा खड्का र सुपुष्पा भट्टले पनि प्रिमियर मार्फत सकारात्मक प्रतिक्रिया बटुलेका छन् । डेब्यु फिल्मलाई पहिलो पटक परिवारसँग हेरेका सुवेक्षा र सुपुष्पा प्राप्त प्रतिक्रिया मार्फत निकै हर्षित थिए । यसै गरी गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ मार्फत ह्याण्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारको कामको पनि तारिफ भएको छ । फिल्म हेरेर निस्किएकाले उनको कामको प्रशंसा गरे । आयोजित प्रिमियर सो मा कलाकारहरू सुनिल थापा, अनुप विक्रम शाही, आर्यन अधिकारी, निर्माता माधव वाग्ले, निर्माता सुदिप खड्का, लेखक प्रदीप भारद्वाज, वितरक प्रदीपकुमार उदय, ज्योतिष टर्न एक्टर हरिहर अधिकारी, गजित विष्ट, सरोज खनाल, आना शर्मा, निर्देशक दिवाकर भट्टराई लगायतले फिल्मको मेकिङको तारिफ गर्दै दर्शकको लागि मनोरंजनकको फुल प्याकेज रहेको प्रतिक्रिया दिए ।

यसै गरी फिल्म हेर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि फिल्म हेरे । बेरोजगार युवाको अवस्था र भ्रष्टाचारले पार्ने असरलाई यसमा देखाइएको छ । यसै गरी फिल्म हेर्न पछिल्लो समय युट्युबमा अत्यधिक खोजिएको जोडी कृष्ण ओली र रुपा ओली पनि हल आइपुगेका थिए । केही समय अगाडी रणवीर टिम कृष्णलाई सहयोग गर्न घरमै पुगेका थिए । त्यस बेला कृष्ण र रुपाले फिल्म हेर्ने इच्छा व्यक्त गरेका थिए । त्यसै अनुरूप उनीहरू हलमा फिल्म हेर्न आइपुगेका थिए । 

यसै गरी पति मनोज गजुरेललाई डिभोर्स दिएपछि एकाएक चर्चामा आएकी मिना ढकाल पनि फिल्म हेर्न आइपुगेकी थिइन् । गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको फिल्ममा टिका पहाडी, नरेश पौडेल, रवि गिरी, भोला राज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, भोला राज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दीपेन्द्र रेग्मीले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । 

सुशील: मैले अझै मेहनत गर्नु बाँकी छ , म सिक्दछु । निकै खुसी लागिरहेको छ । आफ्नो काम मेहनतलाई फिल्मनगरिकै व्यक्तिबाट तारिफ पाउँदा निकै उत्साहित छु । यसले मेरो करियरलाई माथि लाग्नेमा विश्वस्त छु ।

प्रशान्त: फिल्मको रेस्पोन्सले निकै उत्साहित छु । मैले प्रिमियरमा फिल्म हेर्न पाइन् , त्यसैले पनि मलाइ फिडब्याक कस्तो पाउँछ भन्ने डर थियो । हामीले मेहनत त गरेका थियौ तर हाम्रै फिल्मका सर्कलले कसरी लिनु हुन्छ भन्ने लागिरहेको थियो , निकै उत्साहित छु । 

सुवेक्षा खड्का: एकदमै नर्भस भए । आफ्नो काम चित्त त बुझेको छैन तर पनि प्राप्त प्रतिक्रियाले निकै उत्साहित छु । मैले गरेको मेहनतको फिडब्याक पाउँदा निकै उत्साहित छु । आस छ, मेरो कामलाई दर्शकले रुचाउनु हुनेछ वा कमीकमजोरी औलाउनु हुनेछ । 

सुपुष्पा भट्ट: उत्साहित र नर्भस दुवैछु । फिल्म हेरेर निस्किनु हुने सबैले दिनु भएको बधाईले खुसी लगिरहेको छ । हामीले सेटमा गरेको मेहनत पर्दामा देखिएको छ । म आफै दर्शक भएर फिल्म हेर्दा पनि निकै उत्साहित भए ।