अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

साधारण सभामा राउटे देखी मुसहरसम्म सम्मानित

बिआरटीनेपाल २०७५ माघ १७ गते १०:०२ मा प्रकाशित

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि. ले आफ्नो ११ औ साधारण सभाका अवसरमा शिर्षा साना किसान कृषि सहकारी संस्थाका सदस्य मदन सिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा सम्मान गरेको छ । बिहीबार सम्पन्न भएको साधारण सभाका अवसरमा जङ्गलमा बस्दै आएका राउटे समुदायलाई शिर्षा साना किसान कृषि सहकारीले अहिले आयआर्जनका काममा संलग्न गराउँदै आएको छ । पुरस्कृत हुने राउटेले बाख्रा र कुखुरा पालन गर्दै आउनुभएको छ ।

यसै गरी सङ्घले लाटिकोइली, सुर्खेतका छविलाल खड्कालाई पनि उत्कृष्ट किसानका रूपमा सम्मान गरेको छ । नेपालमै च्याउको बिउ उत्पादन गर्ने युवा किसान दुलारी, मोरङका सरोज नेपाललाई पनि सङ्घले सम्मान गरेको छ । साना किसान कृषि सहकारी संस्था मार्फत महको व्यवसाय गर्दै आउनुभएको मकवानपुरको काँकडाका दिपनप्रजा (चेपाङ) पनि यस वर्ष उत्कृष्ट किसान बन्नुभएको छ । इनर्वासिरा बारा साना किसान कृषि सहकारी संस्थाकी सदस्य सबरा खातुन यस वर्ष उत्कृष्ट किसान बन्न सफल हुनुभएको छ । उहाँले गाई भैँसी र बाख्रा पालन गरिरहनुभएको छ । यसै गरी कुनै समय मुसा मारेर खाने जाती पविता देवी मुसहर अहिले बाख्रा पालेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । रघुनाथपुर धनुषा साना किसान कृषि सहकारी संस्थाकी सदस्य उहाँलाई पनि यस वर्षको उत्कृष्ट किसान पुरस्कार प्रदान गरिएको छ ।

यसै गरी गाई भैँसी पालन र तरकारी खेती गरिरहेका पदरिया, सिराहाका सदस्य दिनेश शाह पनि उत्कृष्ट किसानका रूपमा सम्मानित हुनुभएको छ । उत्कृष्ट किसानहरूलाई अर्थ मन्त्री डा युवराज खतिवडाले प्रशंसा पत्र र नगद ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । यसै गरी नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि. ले साना किसान कृषि सहकारी संस्था  लि. गुमी सुर्खेतकी प्रबन्धक दीपा राना, साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपूर धनुषाका प्रबन्धक दीपनारायण पूर्वे र साना किसान कृषि सहकारी संस्था  लि. महारानीझोडा झापाका प्रबन्धक चिरञ्जीवी भण्डारीलाई पनि सम्मान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू