अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

नेपाल क्लिक २०१९ फोटो प्रतियोगिताबारे जानकारी

बिआरटीनेपाल २०७५ माघ १७ गते ९:५२ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ नेपाल पर्यटन प्रवर्धन उपसमितिले नेपालको पर्यटन प्रवर्धनको लागि नेपाल सरकार तथा सरोकारवाला सङ्घ संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्दै आएको छ । नेपाल सरकारले घोषणा गरेको भिजिट २०२० को लक्ष्य पूरा गर्नका लागि समेत यस उपसमितिले सहकार्य गर्दै आएको सर्व विदितै छ । सोही क्रममा सन् २०१८ मा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै ग्लोबल भिडियो प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ । उक्त प्रतियोगितामा उत्कृष्ट ३ उत्कृष्ट प्रतियोगीहरूलाई पुरस्कृत गरिएको थियो ।

सोही क्रमलाई निरन्तरता दिँदै पर्यटन प्रवर्धन उपसमितिले नेपाल सरकारले मनाउन गइरहेको नेपाल भ्रमण वर्ष २०२० मा थप टेवा पुर्‍याउनको लागि नेपाल क्लिक प्रतियोगिता आयोजना गर्न गइरहेको छ । यस प्रतियोगितामा नेपालको कला संस्कृति, भाषा, मौलिक भेष–भूषा पर्यटकीय स्थलहरू, स्थानीय तहमा प्रचलित परिकार, चाडपर्व लगायतका मौलिक विषयवस्तुमा आधारित रहेर फोटोहरू समावेश गर्नुपर्नेछ । यस प्रतियोगिताको मूल शीर्षक Life Time Experiences तय गरिएको छ । यस प्रतियोगिताको सुरुवात नेपाल पर्यटन बोर्डको २०औं वार्षिक उत्सवमा माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीले विधिवत रूपमा गर्न भयो ।

यस प्रतियोगितामा पहिलो पुरस्कार नगद रु. ५० हजार, दोस्रो पुरस्कार नगद रु. ३० हजार र तेस्रो पुरस्कार नगद रु. २० हजार व्यवस्था गरिएको छ । यसका साथै गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा प्रकाशित गर्ने फोटो म्यागेजिनमा समेत सो प्रतियोगिताका विजेताहरूको नाम सहित उनीहरूले खिचेका फोटो प्रकाशित गरिने छ ।

प्रतियोगितामा भाग लिने सहभागीहरूले नेपालको पर्यटन प्रवर्धन एवं मौलिकता झल्काउने किसिमका फोटोहरू तल उल्लेख गरिएको वेभ लिङ्कमा पठाउन हुनको लागि अनुरोध गरिन्छ ।

http://experiencenepal.welcomenepal.com/travel-memory/share-your-memory

सोम सापकोटा
सहकोषाध्यक्ष एवं
संयोजक नेपाल पर्यटन प्रवर्धन उपसमिति
गैरआवासीय नेपाली सङ्घ ।
३० जनवरी २०१९

प्रतिक्रिया