अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

सल्लाघारीमा दीपक बज्राचार्यको ‘मन मगन भक्तपुर–२०७५’

कृष्ण भट्टराई २०७५ माघ १७ गते ९:४६ मा प्रकाशित

काठमाडौँ– लोकप्रिय गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने एउटा वृहत् एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । पछिल्लो समय लोकप्रिय भएको उनको गीत ‘मन मगन’ लाई शीर्षक राखेर आयोजक संस्था रस लाइट मिडियाले ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजना गर्न लागेको हो । 

आयोजक संस्थाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ २६ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा यो विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सङ्गीत’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त साङ्गीतिक कार्यक्रममा गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।

आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीका अनुसार मन मगन टुर भक्तपुरसँगै देशका प्रमुख सहरहरूमा समेत आयोजना गरिने छ । स्वदेशका प्रमुख सहरमा आयोजना हुने ‘मन मगन’ यात्रापछि यही कार्यक्रमलाई अमेरिका तथा क्यानडाका प्रमुख सहरहरूमा समेत सञ्चालन गरिने छ । अमेरिका र क्यानडाको साङ्गीतिक कार्यक्रममा पनि दीपक बज्राचार्य तथा रिदम ब्याण्डले संयुक्त रूपमा आफ्नो प्रस्तुति दिने छन् ।

करिब साढे दुई दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय गायक तथा सङ्गीतकार हुन् दीपक बज्राचार्य । नेपाली कला र संस्कृतिलाई सङ्गीतको माध्यमबाट प्रवर्द्धन गरिरहेका गायक बज्राचार्यले आफ्नो साङ्गीतिक करियरको क्रममा दर्जनौँ लोकप्रिय गीत–सङ्गीत नेपाली दर्शक तथा श्रोताका लागि दिइसकेका छन् । काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रियेसहित उनका दर्जनौँ गीत लोकप्रिय छन् ।

पछिल्लो समय उनी आफ्ना नयाँ गीतका कारण पनि दर्शकमाझ अत्यन्त लोकप्रिय छन् । ‘मन मगन…’ उनको पछिल्लो अत्यधिक सफल तथा लोकप्रिय गीत हो । मन मगन गीत तथा यसको म्युजिक भिडियो नेपाल मात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ । त्यसै कारण गायक बज्राचार्यले उक्त गीतलाई विभिन्न भाषामा समेत गाएका छन् ।

माघ २६ गते शनिवारको कार्यक्रममा गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डको प्रस्तुतिसहित वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जन पनि प्रमुख आकर्षणको रूपमा रहने छन् । समारोहमा आयोजक संस्था रस मेडियाले महेश्वरलाई अन्तर्राष्ट्रिय उपलब्धिका लागि नगद राशिसहित सम्मान गर्ने कार्यक्रम छ ।

कार्यक्रममा बाल गायिका समीक्षा अधिकारी पनि विशेष आकणको रूपमा रहने छिन् । भाइरल समीक्षाको रूपमा लोकप्रिय समीक्षा काठमाडौँमा पहिलो पटक लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेकी हुन् । यसका साथै कार्यक्रममा रमिता भण्डारी, दाउत राई, अजय तुलाधर, राग राँगा तथा कपिल कसपालले पनि आफ्नो प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रमको उत्तरार्द्धमा डिजे तामाले आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूलाई नचाउने छन् ।

कार्यक्रममा बज्र डान्स मण्डलाले प्रस्तुत गर्ने कल्चरल डान्सले पनि दर्शकको मन जित्ने निश्चित भएको आयोजक संस्थाको दाबी छ ।

दिउ“सो १२ बजेदेखि प्रारम्भ हुने उक्त कार्यक्रममा फेसन सो अर्को आकर्षण रहने छ । फेसन सोमा सिनियर कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्रँफीमा व्यावसायिक मोडलहरूले कल्चरल थिममा आधारित पहिरनहरू प्रदर्शन गर्नेछन् । फेसन सोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरू प्रदर्शन गरिने छ ।

कार्यक्रमका लागि डिजि पे आधिकारिक डिजिटल पार्टनरको रूपमा रहेको छ भने नेट म्याक्स आधिकारिक इन्टरनेट पार्टनर हो । यो कार्यक्रमलाई थृ गो सस्टिनाबिलिटी इनोभेसन नेपाल, आर एण्ड आर ग्रुप भर्जिनिया, अमेरिका तथा एसएस इन्टरटेन्मेन्ट, ओन्टारियो, क्यानडाको सहकार्य छ भने राग रागिनी भक्तपुरको सहयोग छ ।

कार्यक्रम मध्यान्न १२ः३० बजेदेखि प्रारम्भ भएर राती ८ बजेसम्म चल्ने छ ।