अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

सम्राट् शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक

प्रदिप कार्की २०७५ माघ १७ गते ९:२६ मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्राट् शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र २९ मा रिलिज गरिने फिल्मको टिजरमा क्यारेटर लुक्ससँगै कथालाई पनि केही हदसम्म प्रस्ट्याउने प्रयास गरिएको छ । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै दर्शकको मनमा बस्न सफल राइजिङ स्टार सलिन मान बनिया अभिनीत फिल्म यसवर्षको प्रतीक्षित फिल्म मध्य एक हो । झन्डै एक मिनेट लामो टिजरमा उनको रोमान्टिकसँगै एक्सन अवतारलाई पनि समेटिएको छ । 

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जङ्ग कुँवर , ईश्वर पौडेल , नानीकाजी डङ्गोल , राजेश बिसुराल , ईश्वर पौडेल , विशाल पहाडी , प्रजोल भट्टराई , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मालिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अङ्कित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

सम्राट् शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रूपमा निर्माण गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भई यस क्षेत्रमा भित्रिएका सम्राट्ले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरू के यो माया हो, मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होम वर्क, छक्का पन्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतिकर्ता रहेका छन् भने फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह –निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई सञ्जय लामाले खिचेका छन् । फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको सँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहनेछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।

सलिनमान बनिया: म आफूलाई निकै भाग्यमानी ठान्छु किनकि दोस्रो फिल्ममा आइपुग्दा नै यति धेरै माया पाइरहेको छु । यो मायालाई बढाउने प्रयास रहने नै छ । फिल्ममा मलाइ रोमान्टिकसँगै एक्सन अवतारमा पनि देख्नु हुनेछ । यस पटक आफूलाई परिपक्व बनाउने कोसिस गरेको छु । फिल्मलाई राम्रो बनाउन कुनै कसर वाकी राखेका छैनौ ।

सम्राट् शाक्य: यात्राको यात्रा सहज थिएन, त्यसैले यसको हरेक सहयात्री प्रति आभारी छु । निकै खुसी लागेको छ, यत्रो समय बिताएपछि डेब्यु गर्ने मौका अवसर र चुनौतीसँगै पाएको छु । यो फिल्ममा सलिन छ यसैले पनि यसलाई मैले अवसर र चुनौतीको रूपमा लिएको हु । सरल फिल्म बनाउने कोसिस गरेको छु । फिल्म हेरिरहँदा नेपालको सुन्दरतासँगै दर्शकले एउटा सरल कथालाई हेर्न पाउनु हुनेछ ।

केशव भट्टराई: यात्राको यात्रा आजबाट सुरु भएको छ । हामीले यात्रालाई सहज र सरल बनाउने कोसिस गरेका छौ । फिल्मलाइ विना सम्झौता तयार गरेका छौ । अहिलेको मेकिङ्ग अनुसार नै फिल्मलाई तयार गरेका छौ । फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ ।